नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता

काठमाडौँ । नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण साहले बताए ।
उनका अनुसार महाधिवेशनमा सातै प्रदेश र जिल्लाबाट प्रतिनिधि छनोट भई आउनेछन् । यसका लागि साउनभित्र प्रतिनिधि छनोट गरिने छ । महाधिवेशनमा दलको नीति, सिद्धान्त, विचार, विधान र समसामयिक राजनीतिक आर्थिक, सामाजिकलगायत विषयमा गहन छलफल र बहस गरी परिमार्जनसहित पार्टीको नीति तय हुने अध्यक्ष साहले बताए ।
मुलुकमा बारम्बार सरकार परिवर्तन हुने घटनाले राजनीतिक अस्थिरता देखिएको भन्दै नेपाली जनता दलले यसबाट आर्थिक समृद्धि, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अवरोध उत्पन्न हुने दाबी गरेको छ ।
अर्थतन्त्रलाई चलायमान बनाएर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने आवश्यक नीति अख्तियार गरिनुपर्नेमा सो दलको जोड छ । पुँजीगत बजेट खर्च बढ्न नसकेको, पूर्वाधार निर्माणको भुक्तानी दिन कठिनाइ भइरहेको अवस्थामा आन्तरिक उत्पादन वृद्धि गरी निर्यात बढाएर आयात कम गर्नेतर्फ सरकारले ध्यान दिन जरुरी भएको औँल्याइएको छ ।
“कृषि क्षेत्रमा हामीले राम्रो उत्पादन गर्ने सम्भावना हुँदाहुँदै उचित नीतिको अभावले तराई मधेसका धेरैजसो भूमि बाँझो रहने गरेको छ । युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिँदा कृषिलगायत सबै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । नेपालका सबै तराई मधेस र भित्री मधेसका जिल्लाहरूका कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन बढाउन सकिने अपार सम्भावना छ । यसबाट एकातिर देश खाद्यान्नमा आत्मनिर्भर बनाउन, नयाँ रोजगारीको क्षेत्र सिर्जना गर्न र अर्कातिर निर्यात बढाउन सकिने सम्भावना छ”, सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष साहले कृषि उत्पादन बढाउन ‘इस्ट वेष्ट मेगा वाटर म्यानेजमेन्ट मल्टिपर्पोज प्रोजेक्ट’को अवधारणा अगाडि बढाउन सरकारसमक्ष माग गरे ।
सरकारले पूर्व–पश्चिम चुरे क्षेत्रमा नदी जडान बृहत् सिँचाइ आयोजना अगाडि बढाएर सबै कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न, तराई मधेस र चुरे क्षेत्रमा पानीको पुनःभरण गराई भित्री मधेस तथा मधेस क्षेत्रमा उर्वरभूमि बचाउन, पर्यावरण र जैविक विविधतालाई जोगाउनेतर्फ ध्यान दिन नेपाली जनता दलले अनुरोध गरेको छ ।
नेपाली जनता दलले मुलुकमा देखिएका सबै प्रकारका समस्या सम्बोधन गर्न संविधान संशोधन गरी सबैलाई स्वीकार्य हुने संविधान बनाउन माग गरेको छ । सो पार्टीका अध्यक्ष साहले संविधान संशोधन सर्वस्वीकार्य बनाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीको स्थापना गर्न माग गरे ।
उनले प्रत्यक्ष निर्वाचन प्रणाली अति खर्चिलो र दलहरूका नेताको खल्तीबाट टिकट बाँड्ने विकृतिमा परिणत भएकाले सबै वर्गका जनताका अभिमतको कदर गर्न संविधान संशोधन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना गरिनुपर्नेमा जोड दिए । सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभाको सिटसङ्ख्या बढी भएको जनगुनासो सुनिँदै आएकाले नेपाली जनता दलले प्रतिनिधिसभामा एक सय ६५ सिट र सबै प्रदेशसभामा दुई सय ३० सिट मात्र सङ्ख्या राख्न सुझाव दिएको छ ।
सङ्घमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने संवैधानिक व्यवस्था गरी राजनीतिक स्थिरता, विकास निर्माण, सुशासन कायम गरिनुपर्ने पार्टीको ठहर छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया