अवैध तस्करी रोक्न भैरहवा भन्सार कार्यालय सक्रिय

भैरहवा (रुपन्देही) । खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट दैनिकजसो अवैध सामान भित्रिन्छन् । बिना भन्सार सामान भित्रिँदा एकातर्फ राजस्व असुली प्रभावित भइरहेको छ भने स्वदेशी व्यापारी मर्कामा परिरहेका छन् ।
सीमा क्षेत्रबाट हुने अवैध तस्करी रोकी राजस्व चुहावट नियन्त्रण गर्न र वैध आयात–निर्यातलाई प्रोत्साहन गर्न पछिल्लो समय भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएको छ ।
गत जेठ २९ मा भन्सार कार्यालयले लु १ च ४७९२ नं को पिकअप गाडी नियन्त्रणमा लियो । उक्त पिकअपमा अवैधरुपमा भित्र्याइएको १७ लाख बढीको बेल्ट, ब्रा र मोजा भेटियो । गाडीको मूल्य पाँच लाख कायम गरी सामान र गाडी जफत गरिएको कार्यालयका प्रमुख एवं भन्सार अधिकृत नारद गौतमले बताए ।
उक्त गाडीका चालक अब्दुल अन्सारी अहिले थुनामा छन् । भन्सारले गत जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नं को ट्रक नियन्त्रणमा लिएको थियो । नौ लाख ६० हजार बराबरको उक्त प्याज र १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएको उनले जानकारी दिए ।
ट्रकसँगै नियन्त्रणमा लिइएका सुरज कान्दु थुनामा छन् भने नारायण भुसाल धरौटीमा छुटेका छन् । अवैध पैठारी रोक्न भन्सारले गरेका यी दुई प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय सेवा प्रवाहसँगै भन्सारमा खटिएको टोलीले तस्करी निणन्त्रणमा सक्रियता देखिएको छ ।
रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले सानादेखि ठूला अवैध चोरी पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेका भन्सार अधिकृत गौतमले बताए । यो सफलताको पछाडि कार्यालयका सम्पूर्ण कर्मचारीको सामूहिक प्रयास रहेको उनको भनाइ छ ।
“नेतृत्वको हिसाबले टिम परिचालन प्रभावकारी रुपमा गरिएको छ”, गौतमले भने, “बाँकी सबै सामूहिक प्रयासको नतिजा हो ।” उनले हेर्दा सानो परिमाणमा यस्ता अवैध निकासी पैठारीका काम देखिए पनि यसले राजस्व असुलीमा ठूलो असर गरिरहेको बताए ।
राजस्व वृद्धि गर्ने स्म्भावनाबारे अध्ययन गर्दा यो पनि एउटा कारण रहेकाले यसको नियन्त्रणमा लागिएको गौतमले बताए । भन्सारको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएका तीन करोड ५९ लाख बढीको सामान बरामद गरिएको छ ।
अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी १६ सवारीसाधन नियन्त्रणमा लिइएको छ । यीमध्ये जफत गरिएका सवारीसाधनबाट एक करोड ८३ लाख ७५ हजार राज्यकोषमा जम्मा भएको गौतमले जानकारी दिए । उनका अनुसार सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको हो ।
अवैध पैठारीमा संलग्न सात जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०/८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले जानकारी दिए ।
नियमित गस्तीसँगै धमाधम सामान र मानिस पक्राउ गर्न थालेपछि कयौँ तस्करहरु रुपन्देहीका नाकाबाट कारोबार गर्न छाडेर कपिलवस्तु र पश्चिम नवलपरासीतर्फ लागेका उनको दाबी छ । नियमित काम र जनशक्ति अभावले मुख्य तस्करसम्म पुग्न अझै नसकिएको उनले जानकारी दिए ।
पछिल्लो समय भन्सारले नियमित गस्ती र सूचनाको जानकारी लिन ‘क्विक रेस्पोन्स टिम’ नै बनाएर काम गरिरहेको छ । भन्सारले अवैध रुपमा भित्र्याइएका कपडा, चिनी, हार्डवेयर, सुर्ती, चुरोट, प्याज, स्टिम चामललगायत सामान सधैँजसो निणन्त्रणमा लिने गरिएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौँका सामान बरामद गरेका छन् । सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर हुने तस्करी रोक्न गरिएको प्रयासले खस्किरहेको राजस्व वृद्धिमा टेवा पुर्याउने भन्सार कार्यालयले बताएको छ ।

















सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया