सोमबार, चैत ९, २०८२

मेचीनगरमा आन्तरिक १३ करोड बढी राजस्व सङ्कलन

मेरोन्यूज २०८१ साउन १३ गते १६:२७

झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय ९७ सङ्कलन भएको जानकारी दिए । एक वर्षमा रु दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताए ।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व सङ्कलन गर्दै आएको छ । सम्पत्ति करतर्फ रु तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत रु दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ सङ्कलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर सङ्कलन गरिने उनले जानकारी दिए ।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी रु एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व सङ्कलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले रु एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व सङ्कलन गरेको उनले बताए ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले रु ५९ लाख ७९ हजार ४३ सङ्कलन गरेको छ । नगरपालिकाले चालु आवमा रु १६ करोड ७७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए। चालु आवमा नगरको कूल बजेट रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ ।

प्रतिक्रिया