आइतबार, चैत ८, २०८२

आयोजना अलपत्र हुँदा १ हजार २ सय घर खानेपानीबाट वञ्चित

मेरोन्यूज २०८१ साउन १५ गते १६:०१

गोलबजार (सिरहा) । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो । पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले रु छ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म रु दुई करोडमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ ।

समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने पनि नभएको स्थानीयको गुनासो छ । “डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकेँ”, उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भने ।

साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ । आर्थिक वर्ष २०७९/८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले रु १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०/८१ म छुट्याएको रु १७ लाख डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ ।

कल्याणपुर–१२ का वडाध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताए । “डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ”, अध्यक्ष ठाकुर भन्छन्, “यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन ।”

सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन् । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताए।

प्रतिक्रिया