शुक्रबार, फागुन ८, २०८२

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा कोइराला

मेरोन्यूज २०८१ साउन २७ गते १८:३८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रहको विमोच गर्दै उनले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

संविधान संशोधन गर्दा संविधानको मर्मलाई भने बिर्सन नहुने डा कोइरालाको भनाइ थियो । ‘निर्वाचन प्रणाली परिवर्तन गर्दा संविधानले व्याख्या गरेजस्तो सबै जातजातिको प्रतिनिधित्व हुनुपर्छ, संविधानमा भएको आरक्षणको सिटलाई सुनिश्चित गराउनुपर्छ तर एक पार्टीको बहुमत कसरी आउँछ भन्ने कुरालाई ख्याल गरेर संशोधन गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।

प्रतिनिधिसभा सांसद डा कोइरालाले अहिलेको अवस्थामा सबै दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । यसै गरी उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरे ।

बङ्गलादेशको घटनाले आम नेपालीलाई चिन्तित बनाएको उल्लेख गर्दै डा कोइरालाले नेपालमा पनि जनआक्रोश बढ्न नदिन जनभावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि कांग्रेस–एमाले गठबन्धन निर्माण भएको छ । अब पनि जनआकाङ्क्षाअनुसार काम गर्न सकिएन भने निराशा र जनआक्रोश बढ्न सक्छ । यसर्थ अहिलेको सरकारले प्राप्त अवसर र विश्वास गुम्न दिनुहुँदैन’, उनले भने । नयाँ कृति प्रकाशन गरेकामा प्रा डा कोइरालालाई उनले बधाई तथा शुभकामना समेत दिए ।

पुस्तकका लेखक प्रा डा कोइरालाले जीवनमा भोगेका भोगाइ र गरेका कामलाई पुस्तकमार्फत आम पाठकमाझ प्रस्तुत गरेको बताए । उनले अर्को वर्ष थप दुई पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको जानकारी दिए ।

दुई पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक पुरुषोत्तम दाहाल र कलानिधि दाहालले प्रा डा कोइरालाको कृतिभित्र जीवनको यात्रा सुरूदेखि हालसम्मको अवस्थालाई चित्रण गरिएको बताए। प्रा डा कोइराला आफ्नो काममा निरन्तर लाग्ने व्यक्ति भएको उनीहरूको भनाइ थियो ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमल्सिना, त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवाली, प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, त्रिचन्द्र क्याम्पसकी प्राध्यापक उषा अधिकारीलगायतले प्रा डा कोइरालाको कृतिले नेपाली भाषा र साहित्यको क्षेत्रमा नयाँ इँटा थपिएको बताएका थिए । उनीहरूले मानिस मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने भएकाले अझ थप कृति ल्याउन शुभकामना दिएका थिए ।

प्रतिक्रिया