सेती नदी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ सुभारम्भ

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको आज ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्यको सुरुआत गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवक्स’ मा विधिवत् पूजा गरेर ‘वेट टेष्ट’ को औपचारिक सुरुआत गरिएको हो ।भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धन गरिएको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट ‘पेनस्टक पाइप’मा पानी पठाएर परीक्षण सुरु भएको हो । ‘वेट टेष्ट’को कार्य तीन दिनभित्रमा पूरा हुने बताइन्छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सकिएपछि ड्राइ टेष्टपछि ‘वेट टेष्ट’ सुरु गरिएको आयोजनाका प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । उनले आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने जानकारी दिए । परियोजना प्रबन्धक पाण्डेले भने, “आयोजनाको स्ट्रक्चर र मेसिनरीतर्फको सबै काम सकेर आजदेखि ‘वेट टेष्ट’ सुरु गरेका छौँ । अबको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु गर्छौँ ।”
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर सेतीको पेनस्टक पाइपमार्फत ल्याइएको छ । सो पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।
विद्युत्गृहमा रहेका १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट ठूलो सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानो सानो पुँजी लगानीले आयोजना निर्माण भएको बताए ।
उनले भने, “आयोजनाको निर्माण सकिएर ‘वेट टेष्ट’ सम्म आइपुग्दा अति नै खुसी भएका छौँ । आयोजना निर्माणमा ठूलो समस्या आएन । यो आयोजना गण्डकी प्रदेशसहित समग्र नेपालको जलविद्युत्का क्षेत्रमा महत्त्वपूर्ण परियोजना बन्नेछ ।”
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर जुटाइएको हो । सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान हुनेछ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया