बुधबार, पुष ९, २०८२

कुवापानीको पहिरोले प्रसिद्ध बराह ताल पुनः पुरियो

मेरोन्यूज २०८१ साउन ३१ गते १५:५२

पर्वत । जलजला गाउँपालिका– २ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदीबराह ताल पहिरोका कारण यस वर्ष पनि पुरिएको छ । 

जलजला– ५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् ।

उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा गण्डकी प्रदेशअन्तर्गत ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत सामान्य मर्मत गरिएको भए पनि पुनः पहिलेकै अवस्थामा पुगेको स्थानीय नवीन जिसीले जानकारी दिए । 

अविरल वर्षासँगै बुधबार बिहान पहाडबाट झरेको पहिरोले एक घर जोखिममा परेको छ भने सयौँ रोपनी धान खेतसमेत पुरिएको जलजला– ४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।

उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोले जोखिम बढाएको बताए । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित आदीबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अंग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ ।

प्रतिक्रिया