बिहीबार, वैशाख १०, २०८३

जिपी कोइराला अस्पताललाई तीन सय शय्याको बनाउन ‘डीपीआर’

मेरोन्यूज २०८१ साउन ३२ गते १९:४६

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नति गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम डिपिआर तयार गरिएको हो।

Advertisement
NiccNicc

सहरी विकास मन्त्रालय भवन विभागको सहयोगमा तीन सय शय्या क्षमताको डिपिआर तयार गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई बुझाइएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो।

देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो। सोहीअनुरूप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको डा श्रेष्ठले बताए।

डिपिआर तयार नभएकाले थप काम अगाडि बढ्न नसकेको अवस्थामा अब डिपिआर तयार भइसकेकाले काम अगाडि बढ्ने श्रेष्ठको भनाइ छ। श्रेष्ठका अनुसार अस्पताललाई एक हजार शय्याको बनाउने लक्ष्य छ। अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने तयारी थालिएको छ । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ।

प्रतिक्रिया