मंगलबार, चैत १०, २०८२

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र

मेरोन्यूज २०८१ भदौ ४ गते २१:१९

ढोरपाटन। अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन्। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए।

‘रातिबाट नै ठूलो पानी परेको थियो, भारी वर्षा हुँदा सडक पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा धेरैलाई समस्या परेको छ। हामीले सडक खुलाउने प्रयास गरिरहेका छौँ’, उपप्रमुख कायतले भने, ‘जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजाआजाका लागि देशभरबाट आउनुभएका भक्तजन फर्कन थाल्नुभएको थियो। सडक अवरुद्ध हुँदा उहाँहरू समस्यामा पर्नुभएको छ।’

यस सडकको विभिन्न ठाउँ भूजीखोलाले कटान गरेको छ। भारी वर्षा भएपछि सडकको ठाउँठाउँमा पहिरो गएकाले यात्रा गर्दा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ।

प्रतिक्रिया