खोटाङमा चन्दा सङ्कलन गरेर कक्षा सञ्चालन

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन्।
स्थापना भएको ४४ वर्षसम्म कक्षा–१० सम्मको मात्र पढाइ सञ्चालन हुँदै आएको पाथेकास्थित लुङथुङ कोलडाँडामा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा अभिभावकले चन्दा सङ्कलन गरेर यसै शैक्षिकसत्रदेखि कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका हुन्।
विसं २०१७ मा स्थापना भएको सरस्वती माविमा कक्षा–११ र १२ सञ्चालनका लागि हालसम्म तीन सय ९८ चन्दादाताबाट रु ३१ लाख सङ्कलन भएको प्रधानाध्यापक उत्रप्रसाद राईले जानकारी दिए।
“सङ्कलित रकमबाट दुई शिक्षक तथा पाठ्य सामग्री खरिद गरेर यस वर्षदेखि कक्षा–११ को कक्षा सञ्चालन गर्दैछौँ। अहिले कक्षा–११ का लागि भर्ना अभियान चलिरहेको छ”, उनले भने, “अर्को वर्षदेखि कक्षा–१२ को कक्षा सञ्चालन हुन्छ।”
कक्षा–११ र १२ सञ्चालन गर्न चन्दा सङ्कलन जारी छ। अभियानअन्तर्गत करिब रु दुई करोड सङ्कलन गर्ने लक्ष्य छ। सङ्कलित रकमलाई खातामा जम्मा गरेर त्यसबाट आएको ब्याजले कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक राईले बताए।
भौगोलिकरुपमा विकट तथा विद्यार्थीको सङ्ख्या प्रर्याप्त भएकाले चन्दा सङ्कलन गरेरै भए पनि कक्षा–११ को कक्षा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले जानकारी दिए।
विद्यालयमा हाल कक्षा–१ देखि कक्षा १० सम्म तीन सय ३० विद्यार्थी अध्ययनरत छन्। पाथेकामा आठ सय २४ परिवार बसोबास गर्छन्। नजिकमा कक्षा–११ र १२ को कक्षा पढ्न विद्यालय छैनन्। केपिलासगढी गाउँपालिकाका दुई वडाका विद्यार्थीसमेत सोही विद्यालयमा अध्ययन गर्न आउँछन्।
माथिल्लो कक्षामा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गर्न पाउने गरी तीनवटा विषयमा पठनपाठन सुरु गरिएको अध्यक्ष राईले बताए। पाथेकामा कक्षा–११ र १२ सञ्चालन गर्न तीन वर्षअघि नै पहल गरिएको हो।
यसअघि कक्षा–११ र १२ अध्ययन गर्न सदरमुकाम दिक्तेल बजार तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो। कक्षा–११ र १२ सञ्चालन गर्न सरस्वती माविमा कार्यरत शिक्षक/कर्मचारीबाट रु आठ लाख तथा पाथेकाका अन्य विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीबाट रु १० लाख सहयोग सङ्कलन हुने उनले बताए।
सरस्वती माविमा प्राथमिक तहमा पाँच, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा तीन शिक्षक कार्यरत छन्। कक्षा–११ र १२ सञ्चालन गर्न विद्यालयका पूर्वप्रधानाध्यापक धनप्रसाद गिरीको संयोजकत्वमा २१ सदस्यीय सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
निर्वाचनकाे सुरक्षा तयारी चुस्तदुरुस्त बनाउन कर्णाली प्रदेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया