शुक्रबार, पुष १८, २०८२

पर्यटनमन्त्री पाण्डेद्वारा भारतमा विभिन्न देशका नेतासँग भेट, धार्मिक पर्यटन प्रवर्ध्दन, पोखरा र लुम्बिनी हवाई उडानमा जोड

मेरोन्यूज २०८१ भदौ ९ गते ९:१०

काठमाडौं । भारत भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरुसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा छलफल गरेका छन् ।

भारतको गुजरातमा जारी आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा उनले सो छलफल गरेका हुन् । मन्त्री पाण्डे र भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पट्टेल, भूटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेसबीच शनिवार भेट भएको थियो ।

मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो । साथै नेपाल–भारतबीच सदियौं पुरानो धार्मिक, सास्कृतिक एवं ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो । भेटका अबसरमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तरसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चार्चा गरेका थिए ।

सो भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चहाने अन्तराष्ट्रिय कम्पनीहरुलाई इन्धन लगायतका विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरेका थिए । उहाँले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराउनु भएको थियो ।

कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटघाटका क्रममा मन्त्री पाण्डेले भगवान बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडिका बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए ।

मन्त्री पाण्डेले कम्बोडियामा ९० प्रतिशत भन्दा बढी बौद्ध धर्मावलम्बीहरु रहेको उल्लेख गर्दै बुद्ध जन्मिएको देश नेपाल र बुद्ध धर्म फस्टाएका देश कम्बोडियाबीच सम्पर्क तथा सम्बन्ध थप विस्तार गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो त्यस्तै भूटानका गृहमन्त्री छिरिङसँग भूटानको थिम्पुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए ।

भेटका क्रममा भूटानी गृहमन्त्रीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटानले स्तुपा निर्माण गर्न चाहेको र त्यसका लागि आवश्यक सहयोगका लागि आग्रह गरेका थिए। यसैबीच मन्त्री पाण्डेसँग भारतको डा.बाबासायब अम्डेकर खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमी उपाध्ययाले शनिवार भेट गरेका थिए।

भेटमा भाषा र संस्कृतिको जगेर्ना गर्न नेपाल र विश्वविद्यालयबीच कसरी सहयोगको आदानप्रदान हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो । सोही भेटमा उपकुलपति उपाध्यायले नेपालको नेपाल भाषा, नेवा संस्कृति र पाली भाषाको बारेमा चासो राख्नु भएको थियो ।

भेटमा नेपलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्तर्गत विभिन्न प्रतिष्ठानहरु रहेको र उनीहरुलाई सो विश्वविद्यालयसँग आवद्ध गरी कसरी भाषा संस्कृतिको जगर्ने गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । शुक्रबारबाट शुरु सो सम्मेलनमा विभिन्न १८ देशका मन्त्रीहरु तथा विज्ञहरु गरी करीब तीनसय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया