बुधबार, वैशाख २३, २०८३

फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना

मेरोन्यूज २०८१ भदौ १० गते ११:२४

पाँचथर । यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।

Advertisement
NiccNicc

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखिएको नगरपालिकाले जनाएको छ । उक्त खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् ।

उक्त विपद् सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार उद्घाटन गरे । नगरप्रमुख काफ्लेले फिदिमका सार्वजनिकस्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपद्मा उद्धारका सामग्री सहज रूपमा समयमै उपलब्ध हुने बताए । “यी सामग्री व्यवस्थापनले विपत्तिबाट हुने क्षति कम गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ”, नगरप्रमुख काफ्लेले भने, “सबै पक्षले यी सामग्रीको संरक्षण र सदुपयोगमा सहयोग गर्ने अपेक्षा लिएको छु ।”

खुला कक्षमा रहेका सामग्री प्रयोगपश्चात सोही स्थानमा ल्याई राख्ने प्रबन्ध गरिएको उनले बताए। खुला कक्षमा रहेका सामग्रीलाई सबैले साझा सम्पत्तिका रूपमा लिने आशा गरिएको उनको भनाइ छ । नगरपालिकाले आगामी दिनमा यसरी अन्य स्थानमा पनि विपद् प्रतिकार्य सहायता सामग्री राख्दै जाने नगरप्रमुख काफ्लेले जानकारी दिए । सो खुला कक्षमा ‘फायर एक्सटिङग्युसर’, बाल्टी, बेल्चा, झम्पल, गैँती, खुर्पा, ‘फायरबल’लगायत सामग्री राखिएका छन् । सोही कार्यक्रममा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमूना अभ्यासको पनि प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया