शुक्रबार, चैत १३, २०८२

४० वर्षदेखि सारङ्गी रेटिरहेका लालबहादुर

मेरोन्यूज २०८१ भदौ २४ गते ८:१२

देउखुरी (दाङ) । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,’ उनी भन्छन्,’ ।सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाडौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले सुनाए ।

घरमा सानै उमेरदेखि बाउ बाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । ‘हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,’ उनले भने ।

जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जीविका चलाउँदै आएको उनको भनाइ छ । उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेका छन् । दुई छोरी तुलसीपुर-१७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् ।

आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् ।  समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन् ।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबैभन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडपर्व आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए ।

सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उनलाई छ । ‘मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,’ उनले भने ।

गाइनेको रूपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् ।

पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।

प्रतिक्रिया