शुक्रबार, चैत ६, २०८२

देउडाको मौलिकता जोगाउन देउडीयाको जमघट

मेरोन्यूज २०८१ भदौ २५ गते १३:०५

कञ्चनपुर । लोप हुँदै गएको देउडाको मौलिक भाका जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले कार्यक्रम आयोजना गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सोमबारदेखि पार्टीले तीन दिने देउडा कार्यक्रम आयोजना गरेको हो । “पुराना देउडाका भाकाहरु हराउँदै गएका छन”, आयोजक समितिका संयोजक ललित हमालले भने, “बाह्य क्षेत्रको प्रभावका कारण देउडा भाकाहरु विकृत बन्दै जान थालेका छन्, मौलिकता जोगाउन कार्यक्रमको आयोजना गरेका हौंँ ।”

पुराना र नयाँ देउडीयाहरुलाई एकै थलोमा बोलाएर नयाँ पिँढीलाई देउडाको महत्व दर्शाउने काम गरिएको उनले बताए । देउडाका भाकासँगै रहनसहन, लवाइखवाइ, पहिरन, गहनाबारे पनि कार्यक्रममा जानकारी दिइने उनको भनाइ छ । बरिष्ठ देउडीया अम्बादत्त जोशीले पुराना गीतहरु भावपूर्ण हुने गरेको उल्लेख गर्दै ज्ञानवद्र्धक, उपदेशमूलक, इतिहासको वर्णन, धार्मिक भावनाले ओतप्रोत, धार्मिक, जनचेतनामुलक हुने गरेको धारणा राखे ।

“हाल पुराना देउडा गीतको रन्को सुनिन छाडेको छ”, उनले भने, “शब्द छनोटमा ध्यान नदिईने छाडा र हल्का शब्दको प्रयोग हुँदा मौलिकता खस्किएको छ ।” नयाँ पिँढीले पुरानाबाट देउडा संस्कृतिबारे जानकारी लिनुपर्ने उनले बताए । यस कार्यक्रमले नयाँ र पुराना देउडीयाको जमघट गराएकाले सिक्ने सिकाउने अवसर प्राप्त भएको उनको भनाइ छ ।

कार्यक्रममा जोशीसँगै पशुपति धामी, मानबहादुर विष्ट, बलदेव भट्ट, गौर सिंह सार्की, कालुसिंह कुवँरको सहभागिता छ । चर्चित देउडा गायक भानुभक्त जोशी र जेआर भट्ट पनि कार्यक्रममा सहभागी छन्।

“कार्यक्रममा सहभागी देउडीयाहरुले सुदूरपश्चिम क्षेत्रको संस्कृतिबारे गीतका माध्यमबाट वर्णन गर्ने, राजनीतिक व्यङ्ग्य गर्ने, समाजमा देखिएका विकृति विसङ्गतीबारे गीतमार्फत सजग गराउने छन्”, कार्यक्रमका अर्का आयोजक जीत सिंह भण्डारीले भने, “पुराना भाकामा देउडाको लय हालेर गाउने कार्यक्रम छ ।”

राप्रपाले आयोजना गरेपनि देउडा खेल्न सबै दलसँग आबद्ध व्यक्तिहरु र समाजका लब्धप्रतिष्ठीत व्यक्तिको सहभागिता रहेको छ ।

प्रतिक्रिया