सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारबराबरको बजेट आज प्रदेशसभामार्फत सार्वजनिक गरेको छ ।
प्रदेशसभाको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारले चालु आवमा लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
चालु आवका लागि कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार र वित्तीय व्यवस्थापनतर्फ १ करोड बजेट विनियोजन गरिएको छ ।
चालु आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब ९९ करोड ९९ लाख, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रकम ४ करोड ४ लाख ५५ हजार रहेको छ ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७२ करोड २७ लाख, आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब १५ करोड ८३ लाख ५८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब ४२ करोड र विशेष अनुदानबापत ५५ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसअघि आर्थिक मामिलामन्त्री थापाले ११ असार २०८१ मा प्रस्तुत गरेको प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गरिएको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१’ र ‘बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८१’ लाई फिर्ता लिनेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।
अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर सरकारले यो बजेट ल्याएको हो । गत असार १ गते तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारीको सरकारले ल्याएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट प्रस्तुत गरिएको हो ।
तत्कालीन सरकारले पनि चालु आवका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । सत्ता समीकरण फेरिएसँगै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो ।
बजेट पारित नहुँदा १ साउनदेखि सरकारको राजस्व सङ्कलन र खर्च गर्नेलगायतका कामहरू ठप्प थिए । नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले अध्यादेश ल्याएर राजस्व सङ्कलन कार्य सुचारु गरेको भए पनि बजेट शून्यताको अवस्था भने यथावत् थियो ।
यसअघि आजको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
त्यसक्रममा सभामुखको अनुमतिमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावलले चालु आवका लागि १ असारमा बजेट प्रस्तुत गरिसकिएको र आज पुनःबजेट प्रस्तुत गर्ने काम संविधान र कानुनविपरीत भएकाले आफूलाई स्वीकार्य नहुने भन्दै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरे ।
दोस्रो बैठक प्रारम्भ हुनासाथ पनि प्रतिपक्षी सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले आफ्नो भनाइ राख्न प्रतिपक्षीलाई समय दिए । त्यसपछि धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामीले संविधान र ऐनले तोकिदिएको समयमा बजेट ल्याउनुपर्नेमा त्यसविपरीत बजेट ल्याइएको भन्दै विरोध गरे । त्यसपछि प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सदस्य सदस्यहरू सदनको कारबाही अगाडि नबढाउने मागसहित नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।
आजै बसेको तेस्रो बैठकमा आर्थिक मामिलामन्त्री थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति, उक्त बजेटसँग सम्बन्धित विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ लाई सभासमक्ष टेबुल गरे ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया