बुधबार, चैत ११, २०८२

नवलपरासीका ९ स्थानमा डिप ट्युबेल जडान गरिँदै

मेरोन्यूज २०८१ असोज ४ गते १०:१०

नवलपरासी । पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका-१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकाले सिँचाइ सुविधा नभएका सुक्खा क्षेत्र छनोट गरी रु दुई करोडको लागतमा नौ स्थानमा सिँचाइको व्यवस्था गर्न डिपट्युबेल जडानलाई तीव्र गतिमा अघि बढाएको छ ।

रामग्राम नगरपालिका-१३ बाट काम सुरु भएको र आवश्यकताअनुसार अन्य स्थानमा पनि डिपट्युबेल जडानलाई तीव्रता दिइने नगरप्रमुख धनपत यादवले बताउनुभयो । किसानलाई सिँचाइको सुविधा दिनसके आर्थिक अवस्था सुधारमा टेवा पुग्ने भएकाले नगरपालिकाले सिँचाइका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

सिँचाइ सुविधा नहुँदा नगरका केही स्थानमा अकासे पानीको भर पर्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिँचाइ पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्रामका अधिकांश परिवार कृषिमा आश्रित छन् । रामग्राम–१३ पाडाटिकरमा रु १६ लाख लागतमा डिपट्युबेल निर्माण सुरु भएको छ । उक्त डिपट्युबेलमार्फत एक सय ५० बिघाभन्दा बढी जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइको सुविधा नहुँदा समस्या भएको बताउँदै स्थानीय समाजसेवी अवधराज यादवले अब सिँचाइ कार्यक्रम विस्तार हुने खबरले आफू उत्साहित भएको बताए ।

वडाध्यक्ष असनारायण चौधरीले वडा नं १३ भित्रै अन्य स्थानमा पनि भूमिगत सिँचाइको व्यवस्था गर्नसके कृषि उत्पादनमा वृद्धि हुने बताए।

नगरपालिकाका कृषि शाखा प्रमुख किरणकुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रम विस्तारमा जोड दिए ।

प्रतिक्रिया