बिहीबार, चैत ५, २०८२

विदेशी मुद्राको सञ्चिति झण्डै २१ खर्ब, १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने

मेरोन्यूज २०८१ असोज १० गते १४:२६

काठमाडौं । मुलुकको विदेशी मुद्राको सञ्चिति १६.७ महिनाको वस्तु आयात धान्न पर्याप्त रहने देखिएकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको राष्ट्र बैंकले जनाएकाे छ । बैँकका अनुसार असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई रु.१८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई रु.२०८ अर्ब ७९ करोड कायम भएको छ। २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।

प्रतिक्रिया