मंगलबार, पुष १५, २०८२

अविरल वर्षाः देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

मेरोन्यूज २०८१ असोज १२ गते १५:४२

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।

प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले राससलाई जानकारी दिए ।

“ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भने, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।”

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए। बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ ।

अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिनुभयो । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए।

सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए ।

त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ।

त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ ।

तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रुपमा अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।

कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ । गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।

नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरुमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले राससलाई जानकारी दिए। सडक सञ्चालन गर्न शवभिन्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका उनले बताए।

“बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौँ । निरन्तर पानी परिरहेको छ । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ”, अर्यालले भने।

प्रतिक्रिया