बिहीबार, वैशाख २४, २०८३

काभ्रेपलाञ्चोकको खानीखोलाका ८ घर बगे

मेरोन्यूज २०८१ असोज १२ गते १६:४२

धुलिखेल (काभ्रेपलाञ्चोक) । अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ । वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो ।

Advertisement
NiccNicc

स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बनाएको जानकारी दिए । उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन् ।

डाँडापारिका दुई पालिका सञ्चार सम्पर्कविहीन

डाँडापारी क्षेत्रमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सम्पर्कविहीन भएका छन् । अविरल वर्षाले विद्युत् सेवा बन्द भएपछि सम्पर्कविहीन बनेका हुन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले वर्षाका कारण पालिकाका अधिकांश ठाउँ सञ्चार सम्पर्कविहीन भएका बताउँदै कहाँ, कति क्षति भएको यकिन गर्न नसकेको उल्लेख गरे। नेपाल टेलिकमलाई बारम्बार खानीखोलामा सञ्चार सम्पर्कमा जोड्न पटकपटक आग्रह गरिएको भन्दै जीर्ण टावरमा सेवा जडान नहुँदा दुई वर्षदेखि समस्या व्यहोर्दै आएको उनले बताए।

त्यस्तै महाभारत गाउँपालिकाका अधिकांश स्थान पनि सञ्चार सम्पर्कविहीन भएका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । वर्षाका कारण विद्युत् प्रसारण लाइनमा क्षति हुँदा सञ्चार सम्पर्क विच्छेद भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया