बिहीबार, फागुन १४, २०८२

दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन

मेरोन्यूज २०८१ असोज १६ गते १४:११

काठमाडौँ । (रासस) । महात्मा गान्धी अर्थात् मोहनदास करमचन्द गान्धीको सन् १८६९ अक्टोबर २ तारिख गुजरातको पोरबन्दरमा जन्म भएको थियो । अङ्ग्रेजी साम्राज्यबाट भारतलाई स्वतन्त्रता दिलाउने एक महान् भारतीय सपुत उनलाई भारतका राष्ट्रपिता मानिन्छ । उनलाई गौतम बुद्धपछि अहिंसाका पुजारीका रुपमा यो विश्वले मानेको छ । संयुक्त राष्ट्र सङ्घले पनि अक्टुबर २ तारिखलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउन थालेको छ । जो जीवनभर अहिंसाका पुजारी रहे तर स्वयम् भने आन्तरिक हिंसाका सिकार भए तर पनि आजसम्म विश्वलाई अहिंसाको माध्यमबाट मात्र समाज रुपान्तरणका गर्न सकिन्छ भनेर उत्प्रेरित गर्दैरहे । उनि जीवितभन्दा मृत्युपश्चात् विश्वका महान् दार्शनिकका रुपमा चित्रित गरिए । आफ्नो देशको किचलोलाई मिलाउने क्रममा नै उनको सहादत भयो, भनौँ ३० जनवरी १९४८ मा हत्या गरियो । गान्धी स्वयं हिन्दू धर्मप्रति अत्यन्तै आस्थावान भए पनि आफू एउटा राजनीतिज्ञका रुपमा भने धर्म निरपेक्ष थिए ।

Advertisement
nepal life insurencenepal life insurence

अहिंसात्मक आन्दोलनका लागि प्रोत्साहन दिने पक्ष भनेको भारतबाट बेलायतलाई बहिर्गमन हुने अवस्था सृजना गर्ने महात्मा गान्धीको सत्याग्रहबाट प्राप्त अहिंसात्मक तागत थियो । नेपाली नेताहरुले राणा हटाउनका लागि राणाको मुख्य सहयोगी अङ्ग्रेज हटाउनु पर्छ र अनि मात्र नेपालमा राणा विरोधी आन्दोलन चलाउन सकिन्छ भन्ने धारणा अन्ततः सत्य साबित भयो पनि । अहिंसात्मक आन्दोलनको बल कति हुँदो रहेछ भन्ने कुरा दक्षिण अफ्रिकाको परिवर्तनलाई पनि लिन सकिन्छ ।

आजको लोकतान्त्रिक बल भनेको नै अहिंसात्मक आन्दोलन हो र त्यो क्षमतालाई आजको समयमा आविष्कार गर्ने व्यक्ति भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धी नै थिए । कतिसम्म भने दक्षिण अफ्रिकाको रङ्गभेद नीतिका विरुद्धमा लड्ने महामनिषी नेल्सन मन्डेलासमेत गान्धीका अनुयायी छन् । संयुक्त राज्य अमेरिकाका रङ्गभेदविरोधी तथा लोकतान्त्रिक आन्दोलनका नेता मार्टिन लुथर किङ पनि गान्धीका नै अनुयायी थिए । नेपालका लोकतान्त्रिक अभियन्ताहरू, महान सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा अनि महान नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुवर्णशंसेर, टङ्कप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र आदिहरु सबै नै गान्धीप्रति नै झुकाब राख्ने थिए । अर्थात अन्ततः अहिंसाबाट नै रुपान्तरणका लागि उहाँहरु विश्वस्त थिए र त्यसैअनुसार आफ्ना कामहरु निर्देशित गरे ।

जबजब हामीहरु हिंसाबाट प्रताडित हुन्छौँ, तबतब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ र पछिल्लो पटक अहिंसाका लागि आफ्नो ज्यान नै विसर्जन गरेका भारतका राष्ट्रपिता महात्मा गान्धीको याद गर्दछौँ । नेपालका लागि पनि गान्धी एक प्रेरणाका स्रोत नै हुनुहुन्थ्यो । नेपालमा पनि आज एउटा गान्धीको आवश्यकता परिरहेको छ, निःस्वार्थरुपमा अहिंसाका लागि सहादत दिन पनि पछि नपर्ने तर सत्यका पक्षमा अडिग रहने । सत्यलाई मात्र आफ्नो सिद्धान्त प्रयोगका लागि मुख्य औजार मान्ने ।

महात्मा गान्धी अहिले पनि वाणीविहीनहरुको वाणी बन्नुभएको छ, करोडौँ दुःखी-घरबारविहीन तर स्वतन्त्रताप्रेमी उन्नायकहरूका लागि भने जिउँदो ईश्वरका रूपमा प्रेरणाका स्रोत हुनुहुन्छ । उनि भन्ने गर्थे- मलाई विश्वास छ, हिंसाको तुलनामा अहिंसा अनन्तरूपले माथि हुन्छ, दण्डको तुलनामा क्षमा नै धेरै मानवोचित वा मान्छेप्रति न्याय गर्ने एउटा सबल आधार हुन्छ । गान्धीको विचारमा सत्य एउटै हुन्छ र सत्यको स्थापना विना शान्ति सम्भव छैन । सत्यको स्थापनाका लागि हिंसा वर्जित हुन्छ र अहिंसाबाट मात्र सत्य र शान्तिको स्थापना र समृद्धि सम्भव छ ।

गान्धी भारतको राष्ट्रपति पनि बन्नुभएन, प्रधानमन्त्री पनि बन्नुभएन, गभर्नर जनरल पनि बन्नुभएन तर भारतलाई औपनिवेशिक जन्जिरबाट स्वतन्त्र गराउन सक्षम भएकाले उनलाई कृतज्ञ भारतीयहरूले राष्ट्रपिता मान्दछन् । महान् भारतीय जनतालाई औपनिवेशिकताको कठोर कारावासबाट उन्मुक्ति दिन गान्धीले अहिंसाको अत्यन्त धारिलो हतियार प्रयोग गरे ।

हजारौँ ट्याङ्क, लाखौँ बन्दुक र करोडौँ गोलीसँग लड्न उहाँले सत्य र अहिंसाको दुईधारे हतियार प्रयोग गरे । जुन उदारता र महानताका साथ गौरबशाली नेतृत्व गान्धीले प्रदर्शन गरे, त्यसैले पोरबन्दरको एउटा बालक एक दिन महान् भारतको महात्मा गान्धी बने, भूगोलको सीमा चिरेर स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य र मान्यताको धरोहर र अहिंसाको ज्वलन्त द्योतक भएर विश्व समुदायमा अनुप्राणित हुनपुगे । आज अहिंसाको कुरा गर्दा आधुनिक विश्वमा गान्धीको नाम नै प्रेरणाका स्रोतका रुपमा पाइन्छ । संयुक्त राष्ट्रसङ्घले समेत अक्टुबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउन आफ्ना सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ ।

गान्धीमा जनताप्रति अगाध आस्था र प्रेम थियो । सत्य र अहिंसाप्रतिको अविचल आस्थाले बरु सहिद हुन रुचाए तर कसैसँग असत्यको पक्षमा घुँडा टेक्नुभएन, आफ्नो आस्था विरुद्धमा । गान्धीलाई एउटा ज्योतिर्मय अन्तर्दृष्टि भएछ-सहादत प्राप्त गर्नुभन्दा दुई दिन अघिमात्र, उनले भनेका थिए-मलाई कसैले गोली हानेर मार्छ भने पनि म उसलाई छेक्ने पनि छैन, म उसलाई दण्डको भागी गराउन सिफारिस पनि गर्दिन र ऐया पनि भन्दिनँ । यो भनाइ २८ जनबरी १९४८ को थियो । ३० जनबरी १९४८ मा जब उनलाई नाथुराम गोड्सेले गोली हान्दा मात्र उनका मुखबाट अन्तिम शब्द ‘हे राम१ हे राम११ हे राम१११’ मात्र निस्कियो । यो नै एउटा महात्माको महानिर्वाण थियो र गोलीको बदला क्षमा मात्र थियो ।

अहिले विश्वभर हिंसात्मक द्वन्द्वले अनावश्यक महत्व पाएको छ । यतिबेर रुस, युक्रेन, मध्यपूर्वको इजरायल, लेबनान, प्यालेस्टाइन स्वशासित प्रशासनिक क्षेत्र, इरान र सिरिया हिंसाको चपेटामा चेपिएका छन् । हिंसा र द्वन्द्वका सहारामा विश्व जित्ने, राष्ट्र जित्ने, व्यक्ति तथा समुदायहरूलाई आतङ्कित बनाई आफ्नो अभीष्टता पूरा गर्ने लहर चलेको छ । त्यो लहर दक्षिण अमेरिकामा छ, उत्तर अमेरिकामा छ, अफ्रिका-युरोप र एसियामा देखिएको छ । शान्त भूभाग, दक्षिण पूर्वी संसार पनि त्यसबाट अछुतो छैन ।

यसबेलामा शान्ति र अहिंसाको महत्व झन् बढेको छ । विश्वभर गान्धीको सम्झना सबैलाई आउन थालेको छ । विश्व समुदायको प्रतिनिधि संस्था संयुक्त राष्ट्रसङ्घले पनि अन्तर्राष्ट्रियरूपमा अहिंसालाई संस्थागत संस्कृतिको स्वरुपमा आत्मसात् गर्न अक्टुबर २ लाई गान्धी दिवस अथवा अहिंसा दिवस मनाउने निर्णय गरेको छ । यसले पनि अहिंसालाई विश्व समुदायले महत्वपूर्णरुपमा हेरेको प्रमाणित हुन्छ । यो अहिंसाको महत्व बढेको नै आजको हिंसात्मक प्रवृत्तिको विस्तारका कारणले हो ।

अब मोहनदास करमचन्द गान्धी-महात्मा गान्धी भारतको मात्र नेता, राष्ट्रपिता वा दार्शनिक रहनुभएन । उनि नेल्सन मन्डेलाका पनि प्रेरक व्यक्तित्व हुनुहुन्छ, मार्टिन लुथर किङ् जुनियर, डाक्टर ओस्कार आरियस सान्चेज, बीपी कोइराला, डिल्लीरमण रेग्मी, जवाहरलाल नेहरु, आङसाङ् सुकी र अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा आदि अहिंसावादी हजारौँ-लाखौँ नेताहरूको, भोकापीडित, द्वन्द्वपीडित, हिंसापीडित, रङ्गपीडितहरूको दुःख बिसाउने र विभेदका विरुद्ध लड्नका लागि प्रेरणाका स्रोत बनेका छन् ।

आज महात्मा गान्धीको देशमा नजिकको छिमेक पाकिस्तान, अफगानिस्तानमा मौलाएको हिंसा संसारभर फैलिएको छ । विश्वको सर्वशक्तिमान देश संयुक्त राज्य अमेरिकासमेत हिंसाबाट पीडित छ । आतङ्कको कालो छायाबाट बर्सेनि लाखौँ निरपराध व्यक्तिहरू हिंसाको सिकार हुन्छन् । नेपाल अझै पनि हिंसाको चोटबाट ब्युँझिन सकेको छैन । नेपाल अझै द्वन्द्वपश्चात्को सङ्क्रमणबाट गुज्रिरहेको छ । यस संवैधानिक कार्यान्वयनको सङ्क्रमणकालको अन्त्यका लागि एउटा अचुक र अमोघ शस्त्र भनेको सत्य र अहिंसाको साधना हो ।

आज हामीले पनि महान् गुप्त साम्राज्यका प्रतिनिधि सम्राट अशोकबाट सिक्नुपर्ने भएको छ- जुन दिन उनले रक्तरञ्जित खुँडा पावन गङ्गा नदीमा पखालेर जनतासँग क्षमायाचना गरे र लुम्बिनीमा आएर पीडितसँग क्षमा माग्दैन, फेरि कहिल्यै कुनै प्रकारको हत्या हिंसामा संलग्न नहुने प्रतिज्ञा गर्दै बुद्धको जन्मस्थलमा शान्ति स्तम्भ स्थापना गर्न योगी बने, अनि मात्र अशोक जनसमुदायका महान् सम्राट अशोक बने र आज पनि हामी उनको नाम आदर साथ लिन्छौँ ।

अब हामीले पनि गान्धीबाट सिक्ने कुरा के हो भने द्वन्द्व, शस्त्रास्त्र भनेका फगत वर्तमानलाई आतङ्कित पारेर, राज्यसत्ता कब्जा गर्न सकिने क्षणिक प्रवृत्ति मात्र हुन्, असल शान्तिको आधार भनेको त सत्यलाई स्वीकार गर्ने अहिंसा मात्रै हो । सम्राट अशोकबाट पनि हामीले सिक्ने भनेको हत्या र हिंसाबाट शान्ति कायम गर्न कहिल्यै सकिँदैन, क्षमा र प्रार्थनाबाट अतीतको कालो धब्बा धुन र पुछ्न सकिन्छ । गान्धी हाम्रो आध्यात्मिक चेतका पछिल्ला आकार हुन् र विश्वलाई अहिंसाको पाठ सिकाउने महान् गुरु हुन् । अन्त्यमा, महामानव महात्मा गान्धीको आत्माले शान्ति पाइरहोस् र संसारभर संयुक्त राष्ट्रसङ्घमार्फत अहिंसाको सुवास फैलिरहोस् । नेपालमा पनि अहिंसाको सुवासले सबै हिंसावादीहरुलाई हिंसाबाट सत्ता कब्जा हुन सक्छ तर सार्वभौम जनतामा शान्ति स्थापना हुँदैन भन्ने सत्यको स्थापना हुने गरी बुद्धि पलाओस् । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

प्रतिक्रिया