बाढी पहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौं । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।
मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृह मन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए ।
काठमाडौंबाट छुट्ने यात्रुबाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उनको भनाई छ । मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ । प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका आठ सय पाँच स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको बताए । यही असोज ११ र १२ गते आएको अबिरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरुमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो ।
हाल अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ् पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।
बी.पी. राजमार्ग चौकीडाँडा–कालढुङ्गा १८ किमिमध्ये करिव १२ किमि सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधनहरु रोकिएको अवस्था छ । शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किमि र बागमति पुलको दाँया–बाँया एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ ।
मेची राजमार्ग रमिते– फिदिमको आठ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । यी खण्डमा असोज १२ गतेदेखिनै सडक विभाग मार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया