बुधबार, चैत ४, २०८२

कमलामाई र दूधौली नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग

मेरोन्यूज २०८१ असोज १९ गते १६:५९

सिन्धुली । सिन्धुलीका बाढीपहिरो प्रभावित पालिकालाई राहत तथा सहयोग जुट्न थालेको छ । यही असोज १० र १२ गते अविरल वर्षाले क्षति पुर्‍याएको दुई पालिकालाई विभिन्न निकायले सहयोग गर्न थालेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

बाढीपहिरोजन्य विपद्बाट पुगेको क्षति पुनः स्थापन तथा संकट व्यवस्थापन गर्न आर्थिक सहयोग गर्न सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सहयोग जुट्न थालेको हो । कमलामाई नगर नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले गोलञ्जोर र सुनकोशीका गाउँपालिका अध्यक्ष क्रमशः शंकरराज बराल र दीपा बोहोरा दाहाललाई तीन÷तीन लाखको हस्तान्तरण गरे।

सो अवसरमा नगरप्रमुख पोखरेलले आर्थिक सहयोगले पनि सुनकोसी र रोशी खोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित भएका प्रभावित परिवारलाई मलमको काम गर्ने बताए। “बाढीपहिरोबाट सिन्धुलीका सबै पालिका प्रभावित छन् । अझ बढी उत्तरी क्षेत्रका सुनकोसी, गोलञ्जोर र फिक्कल गाउँपालिका प्रभावित भएको छ,” उनले भने “छिमेकीकोमा विपत्ति आयो, मेरोमा आएन भनेर चप लागेर नबसौँ । आ–आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरौँ ।”

बाढीपहिरोले घरमा थुपारेको लेदो र बालुवा माटो सफाइ गर्न जनशक्तिसमेत प्रभावित क्षेत्रमा खटाइएको उनले बताए।

यसैगरी, दूधौली नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले सुनकोसी गाउँपालिकालाई रु. पाँच लाख र गोलञ्जोर गाउँपालिकालाई रु. दुई लाख प्रदान गरेका छन् । दूधौली नगरकार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसारसम्बन्धी पालिकाको कार्यालय पुगेर पालिका प्रमुखलाई सहयोग रकम प्रदान गरिएको नगरप्रमुख अधिकारी दनुवारले बताए।

मरिण गाउँपालिकाले सुनकोशी गाउँपालिकालाई तीन लाख र गोलञ्जोर गाउँपालिकालाई दुई लाख सहयोग गरेको छ । मरिणका प्रमुख विमर्श मोक्तानले सम्बन्धित पालिका पुगेर उक्त सहयोग प्रदान गरेका थिए।

यसका साथै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली नेपाल रेडक्रस सोसाइटीलगायत जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाले राहत वितरण कार्यदलका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलको संयोजकत्वमा बाढीपहिरो प्रभावित पालिकाका तीन सय परिवारलाई तत्कालका लागि चाहिने अत्यावश्यक सामग्री तथा खाद्यन्नहरु वितरण गरेका छन् ।

विभिन्न ठाउँमा गएको पहिरो र रोशी खोला तथा सुनकोसी नदीमा आएको बाढीले यस पालिकामा मानवीय क्षतिसमेत भएको थियो । मानव बस्ती, धानबाली, खेतीयोग्य जमिन र सडकमा क्षति बाढीपहिरोले गरेको थियो ।

बाढीपहिरो प्रभावित सुनकोसी र गोलञ्जोरले सूचना निकालेर पालिकावासीको उद्धार, राहत, पुनः निर्माण र पुनः स्थापनाको लागि सहयोग गर्न सार्वजनिक अपिल गरेका थिए ।

प्रतिक्रिया