उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताउनुभयो । “आनन्द, खुशी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गर्नुभयो । यस्ता पर्वलले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने भन्नुहुँदै उहाँले नेपालीका महत्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गरेका छन् ।
“भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, वडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । विजयादशमी सामाजिक मात्र नभइ राष्ट्रिय महत्व बोकेको पर्व पनि हो । यसले कुप्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, उपराष्ट्रपति यादवले भनेका छन्,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सँधै पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सँधै विजय हुने शिक्षा पनि यसले दिन्छ ।
अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।” उहाँले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउँ पुगोस् भनि कामनासमेत गरेका छन् ।
यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।
उपराष्ट्रपति यादवबाट टीका तथा प्रसाद प्रदान हुने समय निर्धारण यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको उहाँको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपरान्ह २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो । सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिलसमेत गरेको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया