बुधबार, चैत ११, २०८२

यस वर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

मेरोन्यूज २०८१ असोज २९ गते ७:५३

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु. १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु. २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उनले भने, “सरदर मूल्यअनुसार रु. १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।”

गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरूले बताएका छन् । 

जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले  दसैँ तिहारमा हिमाली च्याङग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । 

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा रु. १० हजार कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो । 

प्रतिक्रिया