हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।
जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ रहेका उनले डब्लुएचओका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गरेका हुन्। मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्दै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैँ तयार रहेको बताए।
जवाफमा महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै मन्त्री पौडेलले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताउनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले जानकारी दिए।
सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेटवार्ता गरे। त्यस अवसरमा उनले बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि नेपालले प्रयास गरिरहेको र यस कार्यमा आवश्यक खोप सहयोगका लागि आग्रह गरे। मन्त्री पौडेलले डेंगीलगायत छ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन उनीमार्फत विश्व समुदायको ध्यानाकर्षण गराए।
यसैगरी उनले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँगको भेटवार्ताका क्रममा नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार कार्यलाई अगाडि बढाउने बताए। जर्मन स्वास्थ्यमन्त्री कार्लले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए।
नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा
विश्व स्वास्थ्य क्षेत्रका सरोकार भएकाहरूले नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा सुधार भइरहेको भन्दै प्रशंसा गरेका छन्। विश्व स्वास्थ्य शिखर सम्मेलनको एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको दूरदराजमा क्रियाशील ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र मातृशिशु स्वास्थ्य सुधारका लागि उदाहरणीय काम गरेको बताए। उनीहरूकै प्रभावकारी भूमिका र योगदानका कारण मातृशिशु मृत्युदर कम गर्न सकिएको उल्लेख गरे।
मन्त्री पौडेलले नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गरेका थिए। त्यस अवसरमा युनिसेफका उप कार्यक्रम निर्देशक ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित बनाउन र उनीहरूको सशक्तीकरणका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका थिए।
जवाफमा अब्दीले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय रहेको भन्दै यस कार्यमा सहयोग गर्न आफूले पहल गर्ने विश्वास दिलाएको जनाइएको छ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया