सोमबार, चैत २३, २०८२

गन्दर्भ समुदायको कथा समेटिएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक

मेरोन्यूज २०८१ कार्तिक १ गते १६:३२

काठमाडौं । कात्तिक १५ गते रिलिज हुने नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ।

चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए।

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल टिजर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन्। आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, ‘यसपटक अझ बढी खुसी छु। आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ। कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ।’

दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन्। आफूले ‘पूर्णबहादुरको सारङ्गी’ मा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए।

‘मलाई टिजर र ट्रेलरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘मलाई धेरैले व्यक्तिगत रूपमा त्यही प्रतिक्रिया आइरहेको छ। ट्रेलर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइएको छ।’

निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए।

‘हामीले चलचित्रमा जे कुरा भन्दै छौँ र टिजर र ट्रेलरमा जे देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो,’ निर्देशक पौडेलले भने, ‘धेरैलाई आफ्नै कथाजस्तो लाग्छ होला, कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन्छ होला।’

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ।

चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्। निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन्। कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन्।

प्रतिक्रिया