शनिबार, पुष १९, २०८२

इजरायल युद्धका कारण नेपाली श्रमिक तत्काल नपठाइने

मेरोन्यूज २०८१ कार्तिक ८ गते १६:३५

 काठमाडौं । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ ।

इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट गरिएको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थाल्ने बताए । ‘नेपालीले त्यहाँ असुरक्षा भोग्नु नपरोस् भनेर सचेत छौं’, उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग निरन्तर छलफलमा छौं, परिस्थिति सहज नदेखेसम्म पठाउँदैनौं ।’

इजरायल पछिल्लो एक वर्षयता समयदेखि प्यालेस्टाइनको हमाससँगको युद्ध लडिरहेको छ । पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कंदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् । लेबनानसँग पनि इजरायल युद्धमा छ ।

निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् । यस्तो बेलामा सरकारले भने रोजगारीका लागि थप नेपालीलाई त्यहाँ पठाउने तयारी गरेपछि त्यसको आलोचना भएको थियो ।

प्रतिक्रिया