मंगलबार, फागुन १२, २०८२

स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ

मेरोन्यूज २०८१ कार्तिक ८ गते १६:४०

चितवन। स्तन क्यान्सर प्रभावितहरूले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मियता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आज आयोजित ‘स्तन क्यान्सर विजेता जमघाट तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीले श्रीमान् र परिवारको हौसला तथा स्वयंको आत्मविश्वासले रोगलाई परास्त गर्न सकिने धारणा राखेका हुन्।

कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको बताउँदै सहभागीलाई आफ्नो अनुभव सुनाइन्। उनले सुरुआतमा स्तन वरपर पोलेको जस्तो भएर विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत रोग पहिचान हुन नसकेको बताउँदै भनिन्,‘नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो।’

उच्च मनोबलका साथ उपचारमा लाग्नुपर्नेमा जोड दिँदै सभापति रावलले परिवारको साथ, सही उपचार र सकारात्मक उर्जाका माध्यमबाट स्तन क्यान्सरलाई परास्त गर्न सकिने धारणा राखिन्।

अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरूलाई सचेतनाका लागि सद्भावना दूत बनिदिन आग्रह गरे। क्यान्सर विजेताले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा क्यान्सरको अवस्था र उपचार विधिका बारेमा जानकारी गराए। उनले बाह्य र भित्री कारणबाट क्यान्सर हुने जनाउँदै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सरबाट भने बच्न सकिने बताए।

स्वस्थ खानपान, नियमित व्यायाम र सक्रिय जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै मात्रामा बच्न सकिने डा पौडेलले बताए। विश्वमा सबैभन्दा बढी एसियामा क्यान्सर रोगी रहेका तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालमा बर्सेनि २२ हजार आठ जनामा क्यान्सर पहिचान हुने र तीमध्ये १४ हजार सात सय चार जनाको मृत्यु हुने गरेको जानकारी दिए।

अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा विश्वराम पौडेलले स्तन क्यान्सर प्रभावितलाई बलियो आत्मविश्वासका साथ परिवारको माया दिएर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए। दश वर्ष अघिसम्म क्यान्सर लागेमा मृत्यु हुन्छ भन्ने मानसिकता आमनागरिकमा रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ प्रविधि आएसँगै उपचार सहज हुँदै गएको बताए।

अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा अस्मिता रानाले पाठेघरको मुखको क्यान्सरलाई जितेर स्तन क्यान्सर अगाडि आएको चर्चा गर्दै पुरुष चिकित्सकलाई देखाउन लजाउने समस्या अझै महिलामा रहेकाले पनि समस्या सृजना गरिरहेको बताइन्।

स्तन क्यान्सर विजेता निता श्रेष्ठले आत्मविश्वास र उच्च मनोबलसहित स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरलाई हराउन सकिने अनुभव सुनाइन्। स्तन क्यान्सर विजेता पञ्चु लामाले आफूले क्यान्सर जितेर २० वर्षदेखि स्वस्थ जीवन बिताइरहेको जानकारी दिइन् सकारात्मक सोच र सक्रिय दैनिकीले रोगसँग लड्ने ऊर्जा दिने उनको अनुभव छ। 

प्रतिक्रिया