सोमबार, चैत ९, २०८२

नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर क्याम्पसको माग

मेरोन्यूज २०८१ कार्तिक ९ गते २२:११

भक्तपुर। भक्तपुर नगरपालिकाले विभिन्न संरचना भत्काएपछि भक्तपुर बहुमुखी क्याम्पस प्रशासनले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसमा नगर प्रहरीमार्फत बल प्रयोग गरी क्याम्पस प्रमुख, विद्यार्थी र क्याम्पसका कर्मचारीमाथि हातपातसमेत गरेको क्याम्पस प्रमुख डा कविता लुइँटेल भट्टराईले जानकारी दिइन्।

Advertisement
nepal life insurencenepal life insurence

क्याम्पस प्रमुख डा भट्टराईले प्रेस विज्ञप्ति जारी गरी नगरपालिकाले डोजर ल्याएर क्याम्पसको संरचना भत्काएको र त्यसलाई रोक्न खोज्दा क्याम्पस प्रमुख, विद्यार्थी र कर्मचारीमाथि हातपात गरेको उल्लेख गरेकी छन्।

बिना जानकारी जबर्जस्ती डोजर ल्याएर क्याम्पसको मूल प्रवेशद्वार भत्काएर फालेको, फोकस बत्ती, प्रवेशद्वारको सिसी क्यामेरा फुटाएको, क्याम्पसको उत्तरपश्चिमको बार भत्काएको, पानी उपचार प्लान्ट भत्काएको, भूमिगत पानी ट्याङ्की एवं त्यहाँ जडित ठूलो यूरो गार्ड भत्काएको, ब्याडमिन्टन कोर्टमा क्षति पुर्याएको र क्याम्पसको उत्तरी सिमानाको पूर्वदखि पश्चिमसम्मको तारबार भत्काउँदा लाखौँको क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ। क्याम्पस प्रशासनले घट्नाको भत्र्सना गर्दै भत्काएको संरचना पूर्ववत् अवस्थामा निर्माण गरिदिन मागसमेत गरेको छ।

नगरपालिकाले आफ्नो दाबी गरेर भत्काएको उक्त जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको दाबी क्याम्पसको छ। जग्गाको लालपुर्जासमेत रहेको क्याम्पसले जनाएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०२१ सालको नापीमा पोखरीको डिल भनेर नक्सामा उल्लेख भएको उक्त जग्गा भाजुपोखरीको रहेकाले पुनःनिर्माण गर्न क्याम्पसका सामान्य संरचना भत्काएर सडक निर्माण गरेको बताए।

‘नक्सामा उक्त जग्गा पोखरीको डिल उल्लेख छ, त्यो क्याम्पसको जग्गा होइन, हामीले क्याम्पसँग सहमति गर्न खोज्दा अटेर गरेपछि बाध्य भएर केही संरचना भत्काएका हौँ’, उनले भने, ‘पोखरी परिक्रमा गर्ने २० फिटको सडक निर्माणका लागि ठाउँ खाली गरेका हौँ, नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरी पोखरी प्रवेशद्वारा, सडकलगायतका संरचना निर्माण गर्न लागेका छौँ, क्याम्पसको पनि सौन्दर्यता बढ्छ।’ 

प्रतिक्रिया