तिहार सकिएसँगै थालियो छठको तयारी

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठघाट निर्माणको काम थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा पूजास्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । समितिले एउटा छठघाट पूजाका लागि एक हजार एक सय शुल्क लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो । विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख सहयोग गर्ने गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ ।
यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।
भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय काठमाडौंलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया