वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।
आठवर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन ।
यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् । ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।
रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गरे। “घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,” रावतले भने, “नदीको पानी खेर गइरहेको छ ।”
१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् । सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् ।
खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले चार करोडको योजना कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा छ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिए।
गाउँमा तीन वर्षभित्र खानेपानी पुर्याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु चार करोड ६९ लाखमध्ये गतवर्ष पचास लाख र यो वर्ष एक करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो । उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडिपी) ले रु ९५ लाख सहयोग गरेको हो । सो योजनामा एक करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।
योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ । गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ ।















कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया