शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड ४४ लाख ४९ हजार छ सय ३२ को लागतमा सडक निर्माण गरिन लागेको छ ।
सडक निर्माणका लागि सडक निर्माण कम्पनीले जिम्मा पाएको छ । ठेक्का सम्झौता भएको चार महिना पछि सडक निर्माण अगाडि बढाइएको छ । सडक निर्माणका लागि विसं २०८१ असार १६ गते सम्झौता भएको थियो । तत्काल सडक निर्माणका लागि सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र नगरपालिकाको रु एक करोड ५० गरी रु तीन करोड बजेट परिचालन गरिएको छ ।
सडकमा भएका संरचना हटाउने, माटो भरान गर्ने, चौडा गर्ने, कल्भर्ट निर्माण गर्ने, होमपाइप राख्ने, ग्याबिन जाली राख्ने कार्यसँगै कालोपत्रेको कार्य गरिने शाखा प्रमुख धामीले बताए । ‘पहिलो चरणमा वडा नं १२ को कालागौंडीदेखि वडा नं ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ ।’
सडकको क्षेत्राधिकार २० मिटर रहेको छ । अहिले नौ मिटर चौडाइको सडकमा ग्राभेलिङ गरिने छ भने सात मिटर चौडाइको सडकमा कालोपत्रे गरिने छ । सडकखण्डको वडा नं १ को खजुवापट्टि र वडा नं ३ को जोनापुर क्षेत्रमा तीन हजार एक सय ९० घनमिटरको ग्याबिन जाली राख्ने कार्य हुनेछ ।
प्रिमिक्स कार्पेट विधिबाट सडक कालोपत्रेको कार्य हुने शाखा प्रमुख धामीको भनाइ रहेको छ । यसअनुसार कालोपत्रे सडकको मोटाइ दुई सेन्टिमिटर हुनेछ । क्रेसरको ग्राभेल १० देखि १५ सेन्टिमिटर र सोही अनुपातमा सामान्य खाले ग्राभेल राख्ने कार्य हुने छ । पहिलो चरणको सडक कालोपत्रे गर्ने कार्य विसं २०८२ असोज १६ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
चक्रपथ सडकको कूल लम्बाइ करिब ४४ किलोमिटर बढी रहेको छ । यस मध्ये हाल वडा नं १२ को कालागौंडीदेखि वडा नं ६ र ७ को सीमासम्मको १४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अद्यावधिक गरिएको छ । चक्रपथ सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने कार्य विसं २०७६ मा भएको थियो । डिपिआर बनेको लामो समयपछि सडक कालोपत्र गर्ने कार्यले गति लिएको छ ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया