सोमबार, वैशाख १४, २०८३

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

मेरोन्यूज २०८१ मंसिर ३ गते ११:३४

कैलाली । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो ।

Advertisement
NiccNicc

पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरीका सयौं युवाहरुको उत्साहजनक उपस्थिति रहेको थियो । नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले बाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।

छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो । सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी युवा खेलाडीहरुले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए। खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिनेछ ।

सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ । त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाण्डौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाण्डौं जानेछ । स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेश कै दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

सुदूरपश्चिमका खेलाडिहरुलाई बढीभन्दा बढी मौका दिने गरी टिम तयार गरेको र आफ्नो टिमले उत्कृष्ट नतिजा ल्याउने सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो ।

प्रतिक्रिया