विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग)खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो ।
म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताए ।
गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो ।
यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नम्बर २ लुलाङसम्म सडक पुगिसकेको थियो । आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।
देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दा गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झक छन्त्यालले बताए। लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उनले बताए।
जिप, ट्रयाक्टर, मोटरसाइकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको छ । देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा सङ्घीय सरकारले दुईवटा शीर्षकमा रु एक करोड ३५ लाख, प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ३५ लाख विनियोजन गरेका छन् ।
सो योजनाको पनि ठेक्का आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।
एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया