आइतबार, वैशाख २०, २०८३

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

मेरोन्यूज २०८१ मंसिर १३ गते १६:५४

किएभ। धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ ।

Advertisement
NiccNicc

युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अन्य आठ क्षेत्रहरूमा मिसाइल फेला परेको जानकारी गराउँदै स्थानीयलाई सुरक्षित आश्रयमा जान आग्रह गरेको छ ।

पछिल्लो मिसाइल साल्वो अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले कट्टर वफादार र सेवानिवृत्त जनरल किथ केलोगलाई आफ्नो युक्रेन दूतको रूपमा नियुक्त गरेको एक दिन पछि आएको छ । ट्रम्पले युक्रेनमा अढाई वर्षको रूसी आक्रमण समाप्त गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको युद्धविराम सम्झौतामा आफूले चाँडै मध्यस्थता गर्ने उल्लेख गरेका छन् ।

यद्यपी ट्रम्पका आलोचकहरूले अमेरिकी सैन्य सहायताको फाइदा उठाउँदै रिपब्लिकनले किएभलाई स्थायी रूपमा कब्जा गरिएको क्षेत्रलाई त्याग्न वा नेटोमा सामेल नहुन सहमत हुने सम्झौतामा दबाब दिन प्रयोग गर्ने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भने, “म जनरल किथ केलगलाई राष्ट्रपतिको सहायक र युक्रेन र रूसका लागि विशेष दूतको रूपमा नियुक्त गर्न पाउँदा निकै खुसी छु ।”

सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि युक्रेनले आफ्नो सशस्त्र सेनाका लागि वासिङ्टनबाट लगभग ६० अर्ब डलर प्राप्त गरेको छ, तर ट्रम्पले ह्वाइट हाउसमा प्रवेश गरेपछि हाल यस विषयमा डर थपिएको छ ।

ट्रम्प निकट अमेरिका फस्र्ट पोलिसी इन्स्टिच्युट थिङ्क ट्याङ्कका लागि केलगको अनुसन्धान पत्रमा भनिएको छ, “अमेरिकाले युक्रेनलाई हतियार बनाउन सहयोग जारी राख्ने र रूसले हमला नगर्ने र युद्धविराम वा शान्ति सम्झौतापछि आक्रमण नगर्ने सुनिश्चित गर्न आफ्नो सुरक्षा बलियो बनाउने उल्लेख छ । तथापि, भविष्यको अमेरिकी सैन्य सहायताले युक्रेनलाई रूससँग शान्ति वार्तामा भाग लिन आवश्यक हुनेछ ।”

केलगले जुलाईको रिपब्लिकन सम्मेलनमा भ्वाइस अफ अमेरिकालाई युक्रेनका विकल्पहरू ‘एकदम स्पष्ट’ भएको बताएका छन् । उनले युक्रेन वार्ता नचाहेमा ठूलो क्षति स्वीकार्न र भावी पुस्ताको असहजतालाई समेत आत्मसाथ गर्न तयार हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया