टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित छिन् ।
“पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउँथे,” उनले भनिन्, “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउँदै लगेको छु ।” रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो । कुनै समय प्रशस्त मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिँदै गएको छ । टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो । बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरूले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताइन् ।
“घरमा उपभोग गर्ने, आफन्तलाई कोसेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,” उनले भनिन्, “चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्त्व छ ।” साउन महिनामा रोपिने मुला कात्तिक मङ्सिरमा उखेल्ने गरिन्छ । एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरूले बताउँछन् । स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ । ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक) र धजरा बनाएर तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरूले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन् । आकार अनुसार प्रतिगोटा मुला रु. २५ देखि ५० का दरले बिक्री हुने गरेको किसानको भनाइ छ ।
टोड्केको भ्रमणमा पुगेकी पर्वतको जलजला गाउँपालिका-२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रूपमा किनेर ल्याएको बताइन् । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो । टोड्केमा हुँदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सिप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताइन् ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया