आइतबार, चैत ८, २०८२

क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै

मेरोन्यूज २०८१ मंसिर १९ गते २०:३९

काठमाडौं। मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्यायन अगाडि बढाइएको छ। गत असोजमा गएको भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बिपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किमि पूर्णरूपमा क्षति पुगेको थियो।

Advertisement
nepal life insurencenepal life insurence

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघिनै यातायात सञ्चालन गर्न पहल गर्नुभएको थियो। यातायात सञ्चालन भएसँगै उक्त राजमार्ग वर्षायाममा पनि सञ्चालन हुनेगरी हाल प्राविधिक अध्यायनलाई अगाडि बढाइएको छ।

सडक विभागले हाल भकुण्डेबेसीबाट नेपालथोकसम्मको करिब ३० किमी सडकको स्तरोन्नतीसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ। सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिंग एण्ड कन्सल्टिंग सर्भिसेज’ सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाइको छ। परामर्श दाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोख्रेल, उप–महानिर्देशक अर्जुन अर्याल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका टिम लिडर तथा ट्रान्स्पोर्टेसन इन्जिनियर अमितप्रसाद तिमल्सेना, ई राजेन्द्र पौडेललगायतको टोलीले निरीक्षण गरी आवश्यक परिमार्जन गर्ने विषयमा छलफल गरेको छ।

अनुगमनपछि सचिव शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिए। चौकीडाँडा क्षेत्रको थप अनुसन्धान र निरीक्षणका क्रममा आवश्यक देखिएका परिमार्जनलाई समेत समावेश गरेर चाँडै विस्तृत प्राविधिक प्रतिवेदन तयार गरिने तिमल्सेनाले बताए।

न्यौपानेले पुनःनिर्माण गरिने सडक दुई लेनको हुनेगरी अध्ययन भइरहेको र विस्तृत प्राविधिक प्रतिवेदन तयार भएपश्चात बजेट सुनिश्चितता गरी विभिन्न प्याकेज बनाई निर्माण कार्य चाँडो सम्पन्न गर्ने विभागको योजना रहेको बताए। वर्षाको समयमा समेत सडक सञ्चालनको तयारीमा लागी परेको र सो को लागि बजेट माग समेत गरिएको भक्तपुर डिभिजन प्रमुख सिडिई सुमन योगेशले बताए।

प्रतिक्रिया