रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम

रामपुर (पाल्पा)। यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् ।
रामपुरमा बिहीबार भएको माटो परीक्षण शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा फस्फोरस र पोटासको मात्रा कम भेटिएपछि किसानलाई माटोको उर्वराशक्ति बढाउन सुझाव दिइएको छ ।
रामपुर नगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा नगरका १० वटै वडाबाट नमूनाका रूपमा माटो परीक्षण भएको छ । जाँच गरिएका माटोमध्ये धेरैमा फस्फोरस र पोटासको मात्रा कम पाइएको छ ।
परीक्षणका लागि ल्याइएको ८२ स्थानका माटोका नमूनामध्ये शिविरमा ४० वटाको नमूना परीक्षण गरिएकामा नाइट्रोजनको मात्रा तटस्थ, फस्फोरस र पोटासको मात्रा भने कम देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक रविन बुढाले बताए ।
शिविरमार्फत आफ्नै गाउँठाउँमा माटो परीक्षण गर्न पाउँदा किसानलाई धेरै राहत मिलेको अगुवा किसान दिलबहादुर थापा बताउँछन् । उनले बेलाबेलामा आयोजना हुने यस्ता शिविरले आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, उत्पादन घट्न नदिन ध्यान दिनुपर्ने कुराबारे धेरै जानकारी हुने बताए ।
खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने, माटो बिग्रने हुँदा माटोलाई आवश्यक पर्ने तत्वको मात्रा मिलाएर प्रयोग गर्न किसानलाई सुझाव दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् ।
“रामपुर क्षेत्रका किसानले आफ्नो खेतबारीको माटो परीक्षण गर्न चासो कम देखाउने गर्नुभएको छ, नगरपालिका कार्यालयले पूर्वसूचना जारी गरे पनि परीक्षणका लागि ल्याउने कम हुनुुहुन्छ, नियमित रूपमा खेतीयोग्य जमिनको माटो परीक्षण गराउने बानी किसानमा अझै बसेको छैन”, उनले भने ।
यसअघि नमूना सङ्कलन गरेर पोखरा तथा बाँकेको खजुरा प्रयोगशालामा लैजानुपर्दा किसानलाई समस्या थियो । जिल्लास्थित हाल कृषि ज्ञान केन्द्रमा माटो परीक्षण व्यवस्था भएको छ ।केन्द्रले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर बेलाबेलामा शिविरमार्फत माटो परीक्षण गरिरहेको छ ।












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया