ललितपुरका बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो

ललितपुर । यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो ।
जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ । महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो ।
कात्तिकको अन्तिम साता नख्खु खोल आसपासमा किसानले पालेका बङ्गुरमा रोग देखिएर मर्न थालेका बताउँदै अहिले पनि सङ्क्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । उनले भने, “रोग फैलिँदै गएको छ । अहिलेसम्मको तथ्याङ्कका आधारमा किसानका दुई सय भन्दाबढी बङ्गुर मरेका छन् । अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको ।”
बङ्गुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बङ्गुर मरेका हुन् ।
दुई सयबढी बङ्गुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले बताए । “अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा छिटो सर्ने भएकाले बङ्गुरलाई दानापानी दिँदा सतर्कता अपनाउनुपर्छ”, उनले भने, “एकअर्काबीच पनि सङ्क्रमण फैलिन सक्ने भएकाले सचेत भएर पशु स्याहार गर्नुपर्छ । सङ्क्रमण थप नफैलियोस भनेर किसानलाई उचित सल्लाह दिएका छौँ ।”
बङ्गुरलाई उक्त सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बङ्गुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताए । उनले भने, “महानगरभित्रका किसानले पालेका बङ्गुरमा रोग देखिएका छ । पशु शाखाले त्यसको न्यूनीकरण गर्ने लागि पहल गरिरहेको छ ।”
अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पश स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताए । “सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने गर्छ”, उनले भने ।
गत असोज १२ गते नख्खु खोलामा आएको बाढीले सङ्क्रमण बगाएर ल्याएकाले करिडोर क्षेत्रमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हुनसक्ने पशुसेवा कार्यालयका प्रमुख न्यौपानेले बताए । “बङ्गुर मर्नेक्रम बढिरहेको छ”, उनले भने, “सङ्क्रमण महामारीका रूपमा फैलिन नदिन यस क्षेत्रमा अत्यावश्यकबाहेक आवातजावतमा रोक लगाएका छौंँ । किसानलाई सुरक्षाका सामग्री र औषधिसमेत उपलब्ध गराएका छौँ ।”
प्रमुख न्यौपानेले सङ्क्रमण भएमा एक सय चारदेखि एक सय सातडिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने जानकारी दिए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया