मंगलबार, वैशाख ९, २०८२

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

मेरोन्यूज २०८१ पुष ३ गते १६:१४

काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्स्लाई ८ विकेटले पराजित गरेको हो । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍याे।

सुदुरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ५५ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । त्यसैगरी सैफ जैबले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाए । ब्रेण्डन मक्मूलनले १९ बलमा एक चौका र एक छक्काको सहयोगमा २५ रन जोडे ।

बलिङ्तर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरू मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक/एक विकेट लिए । लिग चरणको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । यो हारसँगै जनकपुरले फाइनल प्रवेशका लागि पुन मौका पाउनेछ ।

भोलि हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया