मंगलबार, वैशाख ३०, २०८२

विश्वकै आध्यात्मिक गुरु  रवि शंकरले आज अध्यात्मबारे विशेष प्रवचन दिने

मेरोन्यूज २०८१ पुष ६ गते १२:१२

काठमाडौँ ।विश्वकै आध्यात्मिक गुरु  रवि शंकरले आज अध्यात्मबारे विशेष प्रवचन दिने भएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा हुने सो प्रबचनलाई ‘द आर्ट अफ लिभिङ फाउण्डेशन’ले विश्वव्यापी रुपमा प्रत्यक्ष प्रशारण गर्ने छ ।

संयुक्त राष्ट्र संघले यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो । सोही सन्दर्भमा आध्यामिक गुरु श्री श्री रवि शंकरको विशेष प्रवचन आउन लागेको हो ।

‘गत ७ डिसेम्बरका दिन संयुक्त राष्ट्र संघको बोर्ड बैठकले विश्व ध्यान दिवसको रुपमा २१ डिसेम्बरको दिनलाई मनाउने निर्णय गरेको थियो । सोही सन्दर्भमा यसपटक गुरुदेव श्री श्री रवि शंकरले विश्वव्यापी प्रवचन दिन लागेका हुन् । नेपाल सहित १८४ देशमा यसको प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ,’ विश्व ध्यान दिवसबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले भने ।

उनले श्री श्री रवि शंकरले मानव कल्याणका लागि ध्यान तथा अध्यात्मलाई विश्वभर फैलाएको बताउँदै त्यसैको सम्मानमा युएनले वर्ल्ड मेडिटेसन डे का अवसरमा आफ्नो मुख्यालयमा बोलाएर ध्यान तथा अध्यात्मबारेमा प्रशिक्षण लिन खोजेको बताए ।

हुन पनि द आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक श्री श्री रवि शंकरले विश्व ध्यान दिवसको अघिल्लो दिन अर्थात २० डिसेम्बरका दिन अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा विशेष प्रवचन दिने छन् । विश्व ध्यान दिवसकै दिन अर्थात २१ डिसेम्बरमा उनले दिने प्रवचन तथा ध्यान कार्य भने आर्ट अफ लिभिङले अनलाइनको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।

सो अमेरिकाबाट श्री श्री रवि शंकरले अनलाइन रुपमा प्रवचन दिनेछन् । नेपाली समय अनुसार बेलुका ८ बजे देखि त्यसको प्रत्यक्ष प्रशारण हुन्छ ।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने सर्वसम्मतीको निर्णय आउनु यो प्रस्ताव अघि सार्वजनिक गर्दा नेपाल, भारत, श्रीलंका, लिचेष्टाइन, मेक्सिको र एन्डोरा सहित अन्य सदस्य राष्ट्रहरुले समेत बलियो समर्थन गरेका थिए ।

सो कार्यक्रममा आर्ट अफ लिभिङ नेपालका कोषाध्यक्ष रिता वैद्यले शरीर स्वस्थ राख्न जत्तिकै मन मस्तिष्क समेत स्वस्थ राख्नु पर्ने भन्दै त्यसका लागि मेडिटेसन (ध्यान) जरुरी रहेको बताईन् । उनले श्री श्री रवि शंकरले टेक्नोलोजी र ध्यानलाई जोडेर विश्वभर आध्यात्मिक क्रान्ति अघि बढाएको बताईन् ।

सदस्य रितिका लोहियाले ध्यानले जीवनमा खुशी, आनन्द संगै काममा स्फुर्ति र सजग बनाउने भन्दै यसले मानिसको जीवनमा थप उर्जा भर्ने बताईन् ।

यस्तै कन्ट्रि कोअर्डिनेटर दिपिका साहले मानसिक स्वास्थ्यका लागि ध्यान सबैभन्दा महत्वपूर्ण औषधि भन्दै अवको विश्वजगतले रोज्नु पर्ने बाटो ध्यान तथा अध्यात्म नै रहेको बताईन ।

द आर्ट अफ लिभिङका नेशनल टिचर्स कोअर्डिनेटर राजेश खड्काले विश्व स्वास्थ्य संगठनले नै मानसिक स्वास्थ्य अवको महामारीको रुपमा देखा पर्दैछ भनेर चेतावनी दिईरहेको बेलामा ध्यानले त्यसको न्युनिकरण गर्न सक्ने बताए ।

प्रतिक्रिया