आइतबार, वैशाख २०, २०८३

रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु

मेरोन्यूज २०८१ पुष १२ गते १६:१८

काठमाडौँ । युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार जनाएको छ ।

Advertisement
NiccNicc

प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ र उनीहरू प्राय कुस्र्क सीमा क्षेत्रमा तैनाथ छन् ।

कुस्र्क अगस्टमा युक्रेनले नियन्त्रणमा लिएको रूसी क्षेत्र हो ।

उत्तर कोरियाली सैनिकमध्ये एक जनालाई युक्रेनी सेनाले बिहीबार जीवितै नियन्त्रणमा लिएको दक्षिण कोरियाली गुप्तचर स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

कुस्र्कमा तैनाथ उत्तर कोरियाली सैनिक समातिएको केही घण्टापछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस ९एनआईएस० ले ती सैनिकको मृत्यु भएको जनाएको हो ।

दक्षिण कोरियाली गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डिसेम्बर २६ मा जीवितै पक्राउ परेका उत्तर कोरियाली सैनिकको गम्भीर चोटका कारण मृत्यु भएको छ ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनामा सामेल भएका करिब तीन हजार उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको बताएका थिए।

दक्षिण कोरियाको गुप्तचर सेवाले यसअघि हताहत ९मृत्यु वा घाइते हुने० उत्तर कोरियाली सैनिकको सङ्ख्या एक हजार रहेको बताएको थियो ।

दक्षिण कोरियाली अधिकारीले युद्धभूमिको अपरिचित वातावरण र ड्रोन आक्रमणको सामना गर्ने क्षमताको कमीका कारण मृत्यु हुने उत्तर कोरियाली सैनिकको सङ्ख्या उच्च हुन सक्ने बताएका छन्।

दक्षिण कोरियाली गुप्तचर निकायको जानकारीपछि गत साता बोल्दै सांसद ली सियोङ–क्विनले प्योङयाङका सैनिकलाई ‘प्रयोग गर्न सकिने अग्रपङ्तीमा खटाइएको’ बताएका थिए।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।

गत जुन महिनामा प्योङयाङ र मस्कोबीच हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यसै महिना लागू भएको थियो र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘सफल दस्तावेज’ को संज्ञा दिएका थिए ।

प्रतिक्रिया