शुक्रबार, चैत ६, २०८२

परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले मनायो २५ औँ वार्षिकोत्सव, समाजसेवीहरु सम्मानित

मेरोन्यूज २०८१ पुष १४ गते १८:२०

काठमाडौँ। परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको २५ औँ वार्षिकोत्सव, रजत महोत्सव तथा ग्लोबल मिट सम्पन्न भएको छ । शनिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा हेल्प नेपालले परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रमका प्रमुख अतिथि विश्वप्रसिद्ध नेत्र शल्यचिकित्सक डा. सन्दुक रुईतले वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला, मानव सेवा आश्रम हेटौंडाका समाजसेवी रामजी अधिकारी तथा सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित ‘विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी) की संस्थापक सविता उप्रेतीलाई अभिनन्दन गरिएको छ ।

यसैगरी हेल्प नेपालले मुगुका विर्खबहादुर रोकाया तथा अन्य सहयोगीहरू कर्णबहादुर बुढा, डा. अरुणा उप्रेती, भरत कोइराला, सूर्यनारायण यादव, किरण भण्डारी, नन्दकृष्ण जोशी र देवेन्द्र बस्नेतलाई कदर पत्र प्रदान गरिएको छ ।

उक्त अवसरमा नेटवर्कले संस्थालाई नगद राशि सहयोग गर्ने सिद्धार्थ राणा, डा. रुद्र पाण्डे, डा. उपेन्द्र महतो, जीवा लामिछाने, महन्त श्रेष्ठ, एलिशन, स्व. मनोज बस्नेत, भण्डारी ब्रदर्श, स्वर्णिम वाग्ले, सारिका मिश्र, रवीन्द्र मिश्र, अनिल थापा, डा. सुन्दरमणि दीक्षित, चन्द्र योञ्जन, वीरेन्द्र बहादुर बस्न्यात, स्व. पूर्णमानसिंह बस्नेत, सुविन बराल, श्रद्धा टन्डन, बद्रीप्रसाद पाण्डे, डा. प्रणव ज्ञवाली, शम्भु दहाल, शिव सैँजु, रोशन सापकोटा, चिरञ्जीवी ढकाल, उद्धव भट्टराई गरेर २५ जनामध्ये कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई सम्मानित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि डा. सन्दुक रुईतले हेल्प नेपाल नेटवर्कले गरेको कामको प्रशंसा गर्दै संस्थाले डायस्पोरालाई फूलको माला झैँ बनाएर राखेकोमा खुसी व्यक्त गरे । संसारको कुनाकुनामा छरिएका नेपालीहरु नेपालका लागि बौद्धिक सम्पत्ति भएको डा. रुईतले बताए ।

नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्षसम्म साथीहरूबाट मिलेको सहयोग र सद्भावको चर्चा गर्दै आगामी दिनमा पनि त्यही गतिमा काम गर्दै जाने प्रतिबद्धता जाहेर गरे । ग्लोबल कोअर्डिनेटरमा चुनिएका दिला खरेलले ‘जुन रूपमा सकिन्छ परोपकार गरौँ’ भन्ने सबैसँग अपिल गरे । उक्त अवसरमा डा. लता घिमिरे, डा. राजु अधिकारी, रघु त्रिपाठी, हर्ष गौतमले हेल्प नेपालसँगको आवद्धता र यसले गरेका कामका बारेमा चर्चा गरेका थिए ।

व्यावहारिक परोपकारमा विगत २५ वर्षदेखि क्रियाशील हेल्प नेपाल नेटवर्कले मुगुको मुर्मामा हेल्थ पोस्ट, धुलिखेलमा बाल आश्रम सञ्चालन गर्दै आएको छ भने शिक्षा, स्वास्थ्य र आपतकालीन विपद्को परिस्थितिमा सेवा र सहयोग गर्दै आएको छ । सम्पन्न ग्लोबल मीटमा अध्यक्ष अरुणसिंह बस्नेतले ग्लोबल कोअर्डिनेसन समिति गठन गरिएको जानकारी गराए ।

प्रतिक्रिया