रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।
मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि वसन्तपुरवासी त्रसित बनेका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पुस १५ गते सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चार वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चार जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटना भएको क्षेत्रमै बाघ रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा मङ्गलबार साँझ ७ बजेको समयमा मनहरी–५ वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए। बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ । मनहरीमा बाघ, हात्तीलगायतका वन्यजन्तुको आतङ्क विगतदेखि नै छ ।
चार महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैँसीले बाघ मारेको थियो । गत भदौ ५ गते मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीको प्रतिकारमा परी बाघ मरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको पूर्वीक्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ ।
मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ । मनहरी गाउँपालिकाको हेटौँडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौँडाको १२, १३, १४ नम्बर वडामा आतङ्क मच्याउँदै आएका छन् ।













इरानमा सरकारविरोधी आन्दोलन तीव्र
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
गगन थापाको नेतृत्वमा कांग्रेस उठ्नेछ : फरमूल्लाह मन्सुर
विशेष महाधिवेशन चलिरहँदा देउवाले डाके आफूनिकट नेताहरूको बैठक
चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङको विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया