पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका–३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताए।
उनका अनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए।
मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीका थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मालिका गाउँपालिकाको देविस्थान र धवलागिरिको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको जानकारहरू बताउँछन् । यो मुनाका कृषकहरुको गाईभैँसी र भेँडाबाख्रा चरिचरन गराउने महत्वपूर्ण क्षेत्र पनि हो ।
धवलागिरिको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेन्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ । पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवद्र्धन कार्यक्रमसमेत गरिएको थियो ।
यसबाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु २० लाख र गाउँपालिकाबाट रु १५ लाख बजेट विनियोजन गरिएको छ । यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले बताए।
यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया