आइतबार, फागुन ३, २०८२

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ : अध्यक्ष दाहाल

मेरोन्यूज २०८१ पुष २० गते १९:२८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए ।

“विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ”, अध्यक्ष दाहालले भने, “अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखापर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धनमार्फत स्वरोजगर र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।”

अध्यक्ष दाहालले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेको जिकिर गरे । उनले भने, ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत्, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुआत हो ।”

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुकमा व्यावसायिक वातावरण बनाउन दलहरू आरोप प्रत्यारोपमा उत्रनुभन्दा एकताबद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । उद्योगी, व्यवसायीलाई दुःख दिने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिँदै उनले व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न समितिका तर्फबाट आफूले सहयोग गर्ने विश्वास दिलाए । माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै व्यवसायीले भोग्दै आएका चुनौतीलाई समाधान गर्न सम्पूर्ण राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताए ।

कार्यक्रममा महासङ्घमा रहेर व्यावसायिक क्षेत्रमा विशिष्ट योगदान गरेबापत कुसुम महर्जन, लक्ष्मी खड्का र अञ्जु चाम्लिङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया