पूर्व आईजीपी सर्वेन्द्रले एमाले छोडेपछि गोकुल बास्कोटाले हाने झटारो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् । झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनको भनाइ छ ।
आज बिहान सामाजिक सन्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।
उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले)मा नरहेको घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आफू अहिले कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।
आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको खनालको भनाइ छ । उनले सामाजिक संजालमा लेखेका छन्-
‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेँ । यसैले म यसै माध्यमबाटस्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,’ उनले फेसबूकमा लेखेका छन्, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्य गरिरहने छु ।’
२०७६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि पूर्वआईजीपी खनाल एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे ।
त्यसको दुई महिनापछि नै खनालले काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालसँग पराजित भए ।
पछि खनालले तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवारी दिए । यद्यपि, तनहुँ–१ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेले बाजे मारे । खनालले तेस्रो मत मात्र प्राप्त गरे । त्यसयता उनी एमालेमा त्यति सक्रिय देखिएका थिएनन् । खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेतृत्व गरेका थिए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया