माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली । पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।
दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको विर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए ।
“पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुन्थ्ये, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो । स्थानीयस्तरमा बनाइएको भाँडा बिक्री गर्न सहज पनि थियो”, उनले भने, “पछिल्लो समय बमहिरबाट तयारी अवस्थामा भाँडा ल्याएर बिक्री गर्दा उपभोक्ता विश्वास पनि कम गर्ने भएकाले व्यापार घटेको छ ।”
भारतबाट ल्याउने गरेका माटोको भाँडा भन्सार तिरेर आयात गर्नुपर्ने भएकाले महङ्गो पनि पर्न गएको भन्दै शाहले यसरी व्यापार गर्दा मुनाफा पनि नहुने बताए ।
आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लाष्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि पहिलेको तुलनामा माटोका भाँडाले बजार पाउन छोडेको धनगढीको कृष्णनगरकी व्यवसायी नीलमदेवी कलवाराले उल्लेख गरे । “केही वर्ष पहिले दैनिक पाँच हजारदेखि १० हजारसम्म कारोबार हुन्थ्यो, अहिले दैनिक एक हजारदेखि तीन हजारसम्मको कारोबार हुन्छ”, उनले भने ।
लामो समयदेखि माटोका भाँडासम्बन्धी व्यवसाय गर्दै आएकी कलवाराले पछिल्लो समय बिक्री घटेसँगै व्यवसाय सङ्कटमा पर्न थालेको गुनासो गरे । “पहिलेको तुलनामा कारोबार घटेपछि जीविकोपार्जनमा समस्या हुन थालेकोछ । यो व्यवसायबाट खर्च चलाउन मुस्किल हुन थालेपछि अहिले गर्मी मौसममा गन्नाको जुस र जाडोमा अण्डा ठेला राखी बिक्री गर्न थालेकी छु”, उनले भने ।
स्थानीयस्तरमा भाँडा बनाउने माटो पाउन छोडेपछि भारतको लख्खिमपुरसहितका सहरबाट तयारी भाँडा ल्याएर बिक्री गरिरहेको कलवाराले जानकारी दिए । “पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए, हिजोआज माटो पाउन छोडेपछि बाहिरबाट भाँडा ल्याउदा महँगोमा बिक्री गर्नु पर्दछ”, उनले भने ।
प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडाको व्यापार घटेको धनगढीका व्यवसायी अरविनप्रसाद कलवाराले बताए । “पहिलेभन्दा अहिले व्यापार धेरै घटेको छ, यही अवस्था रहे यो पेसा लोप हुने जोखिम बढेको छ”, उनले भने ।
स्थानीय सरकारले माटोका भाँडा बनाउने सीप पुस्तान्तरण गर्न र यो पेसा संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्नेमा कलवाराले जोड दिए । “माटोबाट निर्मित भाँडा टुटफुट बढी हुने भएकाले प्रयोगकर्ता घट्ना थालेका छन् । घरघरमा सिमेन्टका गमला लगेर बिक्री गरिँदा पनि माटोका भाँडाको माग घटेको हो”, उनले भने ।
अहिले प्रतिग्राग्री दुई सयदेखि पाँच सय, प्रतिगमला एक सयदेखि दुई सय, प्रतिखुत्रुक्के ३० देखि तीन सय, प्रतिकलश १५ देखि ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया