बुधबार, चैत ४, २०८२

रूसी ड्रोन आक्रमणमा ३ युक्रेनी सर्वसाधारणको मृत्यु

मेरोन्यूज २०८१ माघ ११ गते १७:१७

किएभ । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

युक्रेनले १२ वटा रूसी क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको बदलामा रूसले युक्रेन नजिकै ड्रोन आक्रमण गरेको हो । युक्रेनी आक्रमणका कारण एक विशाल रूसी कारखानामा सेवा अवरूद्ध भएको थियो ।

मस्कोले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता राजधानीमा हरेक दिन ड्रोन वा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।

रूसी आक्रमणका कारण क्षतिग्रस्त भएको आवासीय भवनबाट कालो धुवाँ निस्केको र उद्धारकर्मीहरूले मृतकको शव बाहिर निकालेको घटनास्थलबाट प्राप्त तस्वीरमा देखिएको छ ।

युक्रेनी आपतकालिन सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ क्षेत्रमा शत्रुको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ ।” उक्त क्षेत्रका प्रमुखले एक निजी घरमा आक्रमण भएको बताए । ड्रोनका टुक्राहरु १० तले आवासीय भवनमा पनि ठोक्किएको बताइएको छ ।

युक्रेनी वायु सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किएभ र पश्चिमी एल्भिभसहित सात क्षेत्रमा २५ वटा रुसी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको अमानवीय आक्रमणको आलोचना गर्दै मस्कोलाई हतियार उत्पादन गर्नबाट रोक्न युक्रेनी सहयोगी राष्ट्रहरूले प्रतिबन्धहरू कडा पार्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिबन्धको उल्लङ्घन गरी आपूर्ति गरिएका शाहेद र अन्य क्षेप्यास्त्रको उत्पादनका लागि हरेक पक्षको जवाफदेहीता हुनुपर्छ ।”

रूसी अधिकारीहरूले मस्कोमा युक्रेनी ड्रोन आक्रमणलाई प्रतिकार गरेको बताएपछि किएभको बाहिरी भागमा आक्रमण भएको हो।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले मस्को, कब्जा गरिएको क्रिमियन प्रायद्वीप र पश्चिमी ब्रायन्स्क क्षेत्रमा युक्रेनी मानवरहित १२१ वटा हवाई यान खसालेको जनाएको छ ।

युक्रेनका छ वटा ड्रोनले ब्रायन्स्क क्षेत्रमा उत्पादन र भण्डारण सुविधामा क्षति पु¥याएपछि रूसी माइक्रोइलेक्ट्रोनिक्स कारखानाले काम रोकेको रूसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

मस्को र किएभ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको प्रारम्भिक दिनहरूमा सम्भावित वार्ताअघि फाइदाको लागि होडबाजी गरिरहेका छन्।

सपथ ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरे लगत्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरू गरेको रूसलाई सहुलियत हुनेगरी ट्रम्पले किएभलाई वार्ताका लागि बाध्य पार्नसक्ने आँकलनहरू उनको भनाइका आधारमा गरिएका छन् ।

यसै साता उहाँले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि सम्झौताका लागि दबाब बढाएको थियो । उनले यदि मस्कोले करिब तीन वर्ष लामो युद्ध अन्त्य गर्न सहमत नभए कडा आर्थिक कदम चाल्ने चेतावनी दिएको थियो ।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “यदि उनीहरूले यो युद्धलाई तुरुन्तै रोकेनन् भने म रूसमाथि व्यापक कर वृद्धि र ठूला प्रतिबन्धहरू लगाउनेछु।” 

प्रतिक्रिया