सोमबार, चैत २, २०८२

नेवारी परिकारः धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण

मेरोन्यूज २०८१ माघ १६ गते १९:१५

धादिङ । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ । समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको घुइँचो देखिन्छ । स्टलमा खटिएर स्वाद चखाउँदै गरेका हरिकुमार श्रेष्ठले भने, “यहाँ आइपुग्नुहुने सबैले नेवारी खानेकुरा चाखौँ न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ ।” महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेका उनले बताए ।

एकपटक स्वाद चाखेर फर्किएका अर्को पटक परिवारलाई लिएर आउने गरेका झिँगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उनको भनाइ छ ।

“नेवारी परिकार धादिङका बजारमा सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुन्थये”, गल्छी गाउँपालिका–८ बाट महोत्सव अवलोकनमा आएका कान्छोनारायण श्रेष्ठले भने, “यहाँ आउँदा अर्गानिक नेवारी परिकारका स्वाद खान पाइयो ।”

सुरुका दिनमा खासै चहलपहल नभए पनि दोस्रो तेस्रो दिनदेखि भ्याइनभ्याइ भएको व्यापारी श्रेष्ठले बताए । उनले भने, “यहाँ आउने ग्राहकले अन्य परिकारको तुलनामा यमरी सबैभन्दा बढी मन पराइदिनुभएको छ ।” हेर्दा ममः जस्तै लाग्ने तथा ममः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमरी बनाउन निक्कै समय खर्चिनुपर्ने उनको भनाइ छ ।

सयौँ वर्षदेखि योमरी पुन्हीका दिन नेवार समुदायले योमरी बनाई खाने प्रचलन भए पनि विस्तारै बजारमा योमरी बनाई बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । अध्यक्ष श्रेष्ठका अनुसार दैनिक रु ७० हजारदेखि ८० हजारसम्म कारोबार हुने गरेको छ ।

नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष श्रेष्ठले बताए । नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आएकाको लागि भने नौलो खाजा बन्न पुगेको छ ।

“पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । केही समय अगाडि सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरीले नेवारी परिकार बनाउने तालिम उपलब्ध गराएपछि सदरमुकाम धादिङबेँसीमा नेवारी खानाको परिकारको लोकप्रियता अझ बढेको हो”, उनले भने ।

गत मङ्सिर २९ र ३० गते धादिङबेँसीमा झिगु नेवाः समाजले प्रथम धादिङबेँसी सडक नेवा खाना उत्सव आयोजना गरेर सदरमुकामवासीलाई नेवारी खानाको स्वाद चखाएको थियो ।

प्रतिक्रिया